
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को एउटा पक्षले बुधबार ‘उर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषय छलफल कार्यक्रम गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर इप्पानको एउटा पक्षले यस्तो छलफल कार्यक्रम गरेको हो ।
आगामी जेठ २९ गतेका लागि संस्थाको २४औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनको मिति तय भइसकेको छ । यसै सन्दर्भमा एउटा पक्ष अर्थात् उपाध्यक्ष उत्तम लामा भ्लोनको नेतृत्वले निर्वाचनका लागि आफ्नो टिम घोषणा गरिसकेको छ ।
तर, गत साधारणसभाले गरेको निर्णय कार्यान्वयन गरेर जानुपर्छ भन्ने अर्को पक्षले बुधबार उक्त छलफल कार्यक्रम गरेको हो । जसमा विधान संशोधन, संस्थामा खुला प्रतिस्पर्धाको बाटो खुला गर्नुपर्ने लगायतका छलफल भएका थिए भने दुबै पक्षले आफ्नो असन्तुष्टि र तर्कहरु एउटै मञ्चमा राखेका थिए ।
कार्यक्रममा इप्पानका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका आकांक्षी उत्तम भ्लोन लामाले नेतृत्व चयनलाई सर्वसम्मत बनाएर जाने कुरामा आफू लचक हुन तयार रहेको धारणा राखे । ‘अबको इप्पानको नेतृत्व समस्या समाधान गरेर जानेसक्ने र उर्जा क्षेत्रको आवाज बोल्नसक्ने दूरदर्शी, समावेसी हुनुपर्छ र संकटमा समस्या समाधान गर्नसक्ने हुनुपर्छ,’ उनले भने, ‘हिजो पनि इप्पानमा परिवर्तनको कुरा गदौ मैले धेरै लडेको छु र आज पनि परिवर्तनको पक्षमा छु ।’
उनले तत्कालै महासंघमा जान नमिल्ने अवस्था रहेको उल्लेख गर्दै समयमै साधारणसभा भने गर्नुपर्ने बाध्यता रहेको विषय औंल्याए । नेतृत्वमा सर्वसम्मत बनाएर जाने कुरामा जनुपर्ने कुरामा जतिसुकै लचक हुन पनि तयार रहेको धारणा उनले राखे ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विधान संशोधन गर्न सकिने दस्ताबेज भएको धारणा राखे । ‘हामी समयमा साधारणसभा सक्नुपर्ने बाध्यतामा छौं । विधान संसोधन गर्न सकिने दस्तावेज भएकोले अहिले सर्वसम्मत नेतृत्व चयन गरेर जाने ढंगमा हामी अगाडि बढ्न आवस्यक छ,’ उनले भने ।
इप्पानका उपमहासचिव प्रकाशचन्द्र दुलालले इप्पानलाई समयसापेक्ष बनाउँदै, गत साधारणसभाको निर्णय कार्यान्वयन गर्दै जानुपर्ने धारणा राखे । साथै, इप्पानमा प्रतिस्पर्धा गर्ने वातावरण थप खुला बनाएर जानुपर्ने तर्क उनको छ ।
कार्यक्रममा इप्पानका पूर्वअध्यक्ष कृष्ण आचार्यले विधान संशोधनलाई जालझेल र चिटिङ मुक्त बनाएर सबैले स्वागत गर्ने खालको डकुमेन्ट बनाउन सुझाव दिए ।

‘हामी टिम बनाउन लागेका होइनौं, १०० जनाभन्दा बढी उम्मेदवार त तयार नै हुनुहुन्छ । तर, हाम्रो प्राथमिकता विधान संशोधन गरेर सहमति र एकताका साथ अघि बढ्नु हो,’ आचार्यले भने । उनले कार्यसमितिले पारित गरेको दस्ताबेज सबैले स्वागत गर्ने खालको हुनुपर्ने र संस्था एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
आचार्यले विधानलाई सबैले स्वीकार गर्ने साझा दस्ताबेजको रूपमा परिमार्जन गर्नुपर्ने बताए । आगामी साधारण सभामा लैजाने विधानमा कुनै जालझेल वा छलकपट हुन नहुने उनको भनाइ थियो ।
कार्यक्रममा इप्पान अध्यक्ष गणेश कार्कीले इप्पानको निरन्तर पहलका कारण प्रमुख राजनीतिक दलका घोषणापत्रमा ऊर्जा क्षेत्रका एजेन्डा समावेश हुन थालेको दाबी गर्दै इप्पानलाई थप बलियो बनाउँदै लैजानुपर्ने धारणा राखे ।
संस्थागत सुधारका विषयमा बोल्दै उनले इप्पानलाई तत्काल महासंघमा रूपान्तरण नगर्ने निर्णय गरिएको जानकारी दिए ।
समयानुकूल रूपमा विधान संशोधन गर्दै संस्थालाई अघि बढाउने रणनीति बनाइएको उनको भनाइ छ ।वरिष्ठ उपाध्यक्षसहित अधिकांश पदमा निर्वाचन गराउने तथा केही संरचनागत व्यवस्था परिवर्तन गर्ने प्रस्ताव अघि सारिएको उनको भनाइ थियो ।
यस्तै, पूर्व अध्यक्षलगायतका व्यक्तिहरुले राष्ट्रिय अन्तरास्ट्रिय स्तरमा इप्पानको पहिचान राम्रा बन्दै गएकाले त्यसलाई कमजोर बनाउने काम गर्न नहुने धारणा राखे । वर्षौदेखि जलविद्युत् क्षेत्रमा काम गरेका व्यक्तिलाई नेतृत्वमा ल्याउने नसक्ने तथा सदस्यबाट सुरु गराउनुपर्ने नीति ठिक नभएको विषय पनि धेरैले राखेका छन् । विधान संसोधन गरेर खुला प्रतिस्पर्धाको वातावरण बनाउँदै जानुपर्नेमा पनि धेरैको धारणा थियो ।









प्रतिक्रिया