
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ९० अर्ब ३० करोड रुपैयाँ अपारदर्शी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको बजेट अनुसार अर्थ मन्त्रालयले सार्वजनिक गरेको व्यय अनुमानको विवरण (रातो किताब)का अनुसार आगामी आवको लागि अपारदर्शी बजेट बढेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा जम्मा ८ करोड ७८ लाख रुपैयाँ मात्रै खर्च भएको यस्तो शीर्षकमा चालू आवकै लागि ८ अर्ब ७७ करोड ७१ लाख रुपैयाँ मात्रै खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ । चालू आवमा खर्च हुने अनुमानभन्दा करिब ११ गुणा बढी रकम अर्थमन्त्री वाग्लेले विविध शीर्षकमा लगेर बजेट थुपारेका छन् ।
यसअघिका अर्थमन्त्रीले विविध शीर्षकमा बजेट राखेर अपारदर्शी खर्च बढाएको र अर्थमन्त्रीको तजविजमा बजेट दुरुपयोग गर्न खर्चको शीर्षक नतोकी एकमुष्ट राखेको आरोप अर्थविद्हरूले लगाउँदै आएका छन् ।
खर्च शीर्षक नतोकी राखिने यस्तो रकम सदूपयोग हुन सक्ने भन्दै बिनाशीर्षक बजेट नथुपार्न अर्थमन्त्रीलाई सम्बन्धित सरोकारवालाले पटक पटक सुझाव दिँदै आएका थिए । विगतमा भएका गलत अभ्यासलाई हालका अर्थमन्त्री वाग्लेले पनि निरन्तरता दिएको उक्त शीर्षकको बजेटबाट देखिएको छ ।
विगतमा हुने गरेका गलत अभ्यास हटाएर असल थिति बसाल्ने सार्वजानिक घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले पनि गलत अभ्यासलाई नै निरन्तरता दिएको हो ।
सरकारले अपारदर्शी खर्चमा राखेको यस्तो रकममध्ये नेपाल सरकारले ८८ अर्ब ८० करोड रुपैयाँ जुटाउने र बाँकी १ अर्ब ५० करोड वैदेशिक ऋणबाट जोहो गरिने पनि अर्थ मन्त्रालयको भनाइ छ । अर्थ मन्त्रालयका अनुसार उक्त ऋणमा जम्मा गरिएको पैसालाई कहाँ खर्च गर्ने भन्ने टुंगो भने नलागेको यो बजेट शीर्षकको रकमले देखाएको छ ।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालले उद्योग र सूचना प्रविधि (आईटी)का केही सिग्नेचर प्रोजेक्टका लागि बजेट राखिएकाले विविधमा ठूलो रकम देखिएको हुनसक्ने क्लिकमान्डुलाई बताए ।










प्रतिक्रिया