चार महिनामा २२ अर्ब विदेशी लगानी प्रतिबद्धता, करिब आधा पर्यटन क्षेत्रमा मात्रै, साढे २ अर्ब विदेश लैजान प्रस्ताव
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा विभिन्न देशले २२ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्यांकअनुसार चालु आवको साउनदेखि कात्तिकसम्ममा २२ अर्ब ८ करोड १५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको हो ।
विभागको तथ्याङ्कअनुसार नयाँ उद्योगमा १८ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए)मा ३ अर्ब ७२ करोड ७२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
विदेशी लगानीकर्ताले १७८ वटा उद्योग र एसपीए, एसएसए र टीटीएमार्फत् २१ वटा उद्योग गरी चार महिनाको अवधिमा १९९ वटा उद्योगमा लगानी प्रतिबद्धता जनाएका छन् ।
विभागका अनुसार विदेशी लगानीकर्ताले गत साउनमा विभिन्न देशबाट १३ अर्ब १३ करोड ६० लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए । त्यसैगरी, भदौ महिनामा ३ अर्ब ८ करोड १० लाख रुपैयाँ, असोजमा २ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ र कात्तिकमा २ अर्ब ७४ करोड २५ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धता जनाएका उद्योगबाट ८ हजार ७७० जनाले रोजगारी पाउनेछन् ।
कात्तिकमा मात्रै नयाँ र पुरानो उद्योग गरी ४२ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको छ । ती उद्योगबाट १ हजार ९८ जनाले रोजगारी पाउनेछन् ।
विभागका अनुसार हालसम्म विभिन्न देशबाट ४ खर्ब ६८ अर्ब ३२ करोड ३२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । ती उद्योगबाट ३ लाख १७ हजार ८६७ जनाले रोजगारी पाउने विभागले जनाएको छ ।
कात्तिकसम्मको तथ्यांक हेर्दा विदेशी लगानीकर्ताको सबैभन्दा आकर्षणको क्षेत्र पर्यटन रहेको रहेको छ । चार महिनाको अवधिमा लगानी प्रतिबद्धता जनाएकामध्ये ४८ प्रतिशत हिस्सा पर्यटन क्षेत्रमा रहेको छ । साउनदेखि कात्तिकसम्ममा पर्यटन क्षेत्रमा ८६ वटा उद्योग दर्ता भएको छ । पर्यटनपछि सबैभन्दा बढि विदेशी लगानी प्रतिबद्धता सेवा क्षेत्रमा रहेको छ । सेवा क्षेत्रमा कूल विदेशी लगानी प्रतिबद्धताको हिस्सा ३९ प्रतिशत छ । लगानीकर्ताले चार महिनामा सेवा क्षेत्रमा ६९ वटा उद्योगमा लगानी प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी, उत्पादन क्षेत्रमा १२ वटा उद्योग, सूचना प्रविधि क्षेत्रमा ५ वटा, कृषिमा र खनिज क्षेत्रमा एक-एक वटा उद्योगमा लगानी प्रतिबद्धता जनाएका छन् ।
चार महिनामा एक हजार ५ जना लगानीकर्ताले उक्त उद्योगमा लगानी प्रतिबद्धता जनाएका हुन् । प्रतिबद्धता जनाएका लगानीकर्ताले ११७ जना प्रतिनिधि र २७९ जनाका लागि डिपेन्डेन्ड भिसाको लागि सिफारिस गरेका छन् ।
साढे २ अर्ब रोयल्टीसहित लाभांश लैजान अनुमति
विभागमा चार महिनाको अवधिमा २२ अर्बको लगानी प्रतिबद्धता जनाउँदा विदेशी लगानीकर्ताहरुले सञ्चालनमा रहेका उद्योगहरुबाट कमाएको नाफासहित साढे २ अर्ब रुपैयाँ रकम लैजान अनुमति मागेका छन् । विभागका अनुसार चार महिनाको अवधिमा रिपाट्रिएसनवापत रोयल्टी र लाभांशसहित २ अर्ब ४३ करोड ५८ लाख रुपैयाँ लैजान अनुमति माग गरेका हुन् ।
विभागमा विभिन्न देशका लगानीकर्ताले रोयल्टीवापत १ अर्ब २ करोड ५१ लाख रुपैयाँ र लाभांशवापत १ अर्ब ४१ करोड ६ लाख रुपैयाँ विदेश लैजाने प्रस्ताव पेश गरेका छन् । जसमा ७४ करोड ८६ लाख रुपैयाँ, ५ लाख २३ हजार अमेरिकी डलर (करिब ६ करोड ९६ लाख रुपैयाँ) र भारतीय रुपैयाँ १२ करोड ९२ लाख रुपैयाँ (२० करोड ६७ लाख नेपाली रुपैयाँ) रोयल्टी लैजान प्रस्ताव गरेका हुन् ।
गत वर्षको सोही अवधिमा नेपालबाट २ अर्ब १२ करोड ९९ लाख रुपैयाँ लाभांश लैजान प्रस्ताव गरेका थिए । साथै, चालु आवको कात्तिक महिनामा मात्रै रोयल्टीवापत ११ करोड २१ लाख रुपैयाँ र ७६ हजार अमेरिकी डलर लैजान विभागमा प्रस्ताव पेश गरेका छन् । त्यस्तै, १ अर्ब ९ करोड ८१ लाख रुपैयाँ लाभांश लैजान प्रस्ताव गरेको विभागले जनाएको छ ।