प्राध्यापक गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार



काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार क्लाउडिया गोल्डिनलाई प्रदान गर्ने घोषणा भएको छ ।

महिलाको कमाइ र श्रम बजारको व्यापक अध्ययन गरेकोले उनलाई यस पुरस्कारका लागि चुनिएको हो ।

गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने जानकारी द रोयल स्विडिस एकेडेमीले एक्समार्फत दिएको हो । एकेडेमीले गोल्डिनले महिलालाई श्रम बजारको परिणामको बारेको बुझाइलाई विकसित गरेको जनाएको छ ।

गोल्डिन हार्वर्ड विश्वविद्यालयमा अर्थशास्त्र पढाउँछिन् । उनको अध्ययनको दायरा महिला श्रम, कमाइको मामलामा लैंगिक विभेद, आर्थिक विषमता, प्राविधिक परिवर्तन, शिक्षा र अध्यागमन रहेको छ ।

‘करियर एन्ड फ्यामेली: वुमन सेन्चुरी लङ जर्नी टुवर्ड इक्विटी’ शीर्षकको उनको किताब प्रकाशित छ ।

अर्थशास्त्रका लागि घोषणा भएको नोबेल पुरस्कार सँगै यो वर्षको नोबेल पुरस्कारको घोषणा कार्यक्रम सकिएको छ

अर्थशास्त्रबाहेक यो वर्ष चिकित्साशास्त्रतर्फ कोभिड १९ विरुद्धको एमआरएनए खोप बनाउन प्रविधि विकास गर्ने काटालिन कोरिको र ड्रु भाईस्मान, भौतिक शास्त्रतर्फ सुक्ष्म कालखण्ड पत्ता लगाएर प्रकासँग सम्बन्धित भई प्रयोगका लागि पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन लुहुलिए, रसायनशास्त्रमा क्वान्टम डटको खोलीका लागि मुंगी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभ, साहित्यमा नर्वेली लेखक जोन फोसे र शान्तीतर्फ इरानकी मानव अधिकारकर्मी नर्गिस मोहम्मदीलाई पुरस्कार दिने घोषणा भएको छ । बिजेताहरुलाई आगामी डिसेम्बर १० मा पुरस्कार प्रदान गरिनेछ ।


क्लिकमान्डु