गभर्नरले काम नगरे ‘कान समातेर’ सरकारले यसो गर भन्न सक्नुपर्छ: पूर्वअर्थमन्त्री पाण्डे



काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र सुधार नहुनुको दोष गभर्नरमाथि थोपरेर पन्छिन नमिल्ने बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले कार्यक्रममा पाण्डेले अर्थमन्त्री गभर्नरले माने मैले सुधार गरिदिन्छु भन्दै हिँडेको आरोप लगाए ।

‘हाम्रो अर्थमन्त्री गभर्नरले माने मैले सुधार गरिदिन्छु भनिरहनु भएको छ । समग्र अर्थतन्त्रको जिम्मेवारी लिने अर्थमन्त्री र प्रधानमन्त्रीले होइन ? गभर्नरले मानिदिए म गर्छु भन्ने कुनै तरिका हो,’ पाण्डेले भने, ‘ यसरी जाउँ भनेपछि कसले आपत्ति गर्ला?’

गभर्नरले चाहँदैमा सबै कुरा सुधार हुने अवस्था नभएको उनको भनाइ छ ।

‘आज गभर्नरले गरे सबैकुरा सुधार होला ? मत त्यस्तो देख्दिन । निर्माण क्षेत्रको पैसा तिर्ने गभर्नरले हो कि सरकारले, पुँजीगत खर्च बढाउने कसले,सरकारले होइन ? केही १०/१५ प्रतिशत गभर्नरको होला बाँकी ८०/८५ प्रतिशतमा सरकार रोल हुन्छ’ उनले भने, ‘सबै कुरा लगेर गभर्नरमा मात्र समस्या छ भनेर हुन्छ ?’

गभर्नरले काम नगरे सरकारले ‘कान समातेर’ यसो गर भन्न सक्नुपर्ने उनले बताए । ‘स्वभाविक छ, गभर्नरलाई कान समातेर यसो गर भन्न सकिँदैन?’ पाण्डेले भने, ‘त्यसका लागि सरकारले लिड गर्नु पर्‍यो ।’

उनले सेयर बजारमा रहेको १२ करोडको सीमा हटाउन माग गरे । बैंकले कुल लगानीको १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न सक्ने नीति लिनु पर्ने बताए ।

‘अहिले अवस्था ठिक छ । १२ करोडको नीति हटाए हुन्छ । भारित औसत १०० प्रतिशतमा झारौं’ उनले भने ।

उनले हरेकवर्ष ऋण बढे पनि ग्रोथ नभएको बताए । कागजी डेटा बढे पनि ग्रोथ किन भएन हेरेर समस्याको समाधान गर्न आवश्यक रहेको उनको भनाइ छ ।

संकटको बेलामा नीतिले के गर्छन् भन्ने होइन त्यो भन्दा बाहिर गएर गर्नुपर्ने उनले बताए ।


क्लिकमान्डु