लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार सो गाउँपालिका–२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो ।

निःशुल्क रुपमा दानपत्रमार्फत प्राप्त भएको जग्गालाई ६ लाख रुपैयाँमा खरिद गरेको देखाएर भ्रष्टाचार गरेको अभियोगमा भण्डारीसहित तत्कालीन लेखापाल जीवन सुवेदी र वडा नम्बर २ का तत्कालीन अध्यक्ष रमेशकुमार बस्नेतविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।


रवि धिताल