सरकारले उद्योग व्यवसाय क्षेत्रमा लोडसेडिङ गरिरहेको छ: पूर्वअर्थमन्त्री पाण्डे



काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले उद्योग व्यवसाय क्षेत्रमा लोडसेडिङ गरेको र जनगुनासो आउने ठाउँमा बिजुली दिएको बताएका छन् ।

एमालेनिकट नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘आर्थिक क्षेत्रका विद्यमान समस्या र चुनौती’ विषयक कार्यक्रममा उनले सरकारले उद्योग विस्तार गर्न बिजुली दिनुपर्नेमा दैनिक १६-१७ घण्टा काट्ने गरेको आरोप लगाएका हुन् ।

‘उद्योग विस्तार गर्न विद्युत चाहिन्छ, अहिले १६-१७ घण्टा बिजुली काटिन्छ, यसले भएका उद्योग पनि समस्यामा परेका छन्,’ उनले भने, ‘बढी जनगुनासो आउने ठाउँमा भने बिजुली दिइएको छ । उत्पादन हुने क्षेत्रमा बिजुली छैन ।’

यो समस्या चाँडै समाधान गर्न उनले सरकारलाई आग्रह गरे । पाण्डेले ब्याजदर नघटाए खराब कर्जा बढ्ने र लिलामी बढ्ने तर्क गरे । सेयर बजारको १२ करोडको सीमा हटाएर कुल कर्जाको १० वा यति प्रतिशत भनेर तोक्नुपर्ने उनले बताए । १० प्रतिशत कायम गरे करिब ५ खर्ब जाने र यसलाई बैंकले व्यवस्थापन गर्न सक्ने उनको तर्क छ । बैंकरहरुले पनि यही माग गरेको उनले बताए ।

सेयरको मूल्य घटेपछि मार्जिन कल बढ्ने भएकाले राष्ट्र बैंकले समयमै ध्यान दिन सक्ने हो भने अर्थतन्त्रको ऐनाको रुपमा रहेको पुँजीबजारमा सुधार आउनले पाण्डेको भनाइ छ ।

सरकारले पुँजीगत खर्च नबढाउने हो भने भविष्यमा थप समस्या निम्तिने पूर्वअर्थमन्त्री पाण्डेले बताए । सरकारले अहिले निर्माण व्यवसायीलाई पैसा भुक्तानी नदिएर राज्यलाई संकटतर्फ धकेल्न लागेको आरोप उनले लगाए । सरकार अहिले जनतालाई कसरी समस्या पर्छ भन्दा पनि कसरी कर लगाउन सकिन्छ भन्नेतर्फ उद्दत भएको उनले बताए ।


रवि धिताल