सुन तस्करी प्रकरण: अनुसन्धानका लागि सीआईबी टोली भारततिर



काठमाडौं । हङकङबाट तस्करी गरी ल्याइएको ६० किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना संकलन गर्न नेपाल प्रहरीले सीआईबीका एक अधिकृतसहितको टोलीलाई आज भारत पठाइएको छ ।

बुधबार सोही प्रकरणको थप सूचना संकलनका लागि सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले आज भारतमा पनि टोली पठाएको हो ।

अहिले भारत गएको टोलीले भारतको नेपाली दूतावासमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीसँग समन्वय गरेर त्यहाँबाट सूचना संकलन गर्नेछ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आवश्यकताअनुसार प्रहरी टोली परिचालन गरी नेपाल, भारत र हङकङबाट आवश्यक सूचना संकलन गरिरहेको बताए । यसअघि प्रहरीले हङकङ र भारतको इन्टरपोललाई सहयोग गर्न पत्राचार गरिसकेको छ ।

हङकङबाट ब्रेक सु मा हालेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन गत साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । उक्त सुन प्रकरणमा भन्सारका कर्मचारीको सहयोगमा नेपाल भित्र्याइएको पाइएको छ । केही कर्मचारीहरू पक्राउ पनि परिसकेका छन् ।

यस्तै नेपाली, चिनियाँ र भारतीय नागरिक पनि पक्राउ परेका छन् । हङकङबाट ल्याइएको सुन भारत लैजाने तयारी गरिएको सूचना प्रहरीले प्राप्त गरेपछि हङकङ र भारतका सुन तस्करीबारे सूचना लिन प्रहरी दुवै क्षेत्रमा सूचना लिन खटाइएको हो ।

सुन प्रकरणमा प्रहरीले २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा भारतीय र चिनियाँसहितका ६ जना विदेशी छन् । सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको छ ।


रवि धिताल