टोयटाको गाडी बेच्ने इस्ट लिंक मोटर्सको व्यापार बढ्यो, एकै वर्ष गर्‍यो २ अर्ब ६९ करोडको कारोबार



काठमाडौं । बागमती प्रदेशमा टोयटा ब्राण्डका प्यासेन्जर गाडीहरु बेच्ने इस्ट लिंक मोटर्स प्रालिको व्यापारमा वृद्धि भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०२१ मा गरेको व्यापारको तुलनामा आर्थिक वर्ष २०२२ मा झण्डै दोब्बर व्यापार गरेको छ । आव २०२१ मा कम्पनीले १ अर्ब ३६ करोड ४० लाखको कारोबार गरेको थियो ।

आव २०२२ मा प्रालिको कारोबार २ अर्ब ६९ करोड ४० लाख पुगेको छ । आव २०२० मा भने कम्पनीको व्यापार १ अर्ब ७ करोड ८० लाख रुपैयाँको थियो ।

आर्थिक वर्ष २०२३ को ९ महिनामा भने कम्पनीले १ अर्ब ५० करोड १० लाखको कारोबार गरेको छ ।

सन् २००७ मा सुरु भएको इस्ट लिंक मोटर्स बागमती प्रदेशमा टोयटा ब्राण्डका प्यासेन्जर गाडीहरु बेच्ने आधिकारिक बिक्रेता हो। नेपालमा टोयटाको आधिकारिक बिक्रेता रहेको युनाइटेड टेडर्स सिन्डिकेट प्रालिसँगको सम्झौतामा रहेर यसले टोयटाका गाडीहरु बागमती प्रदेशमा बेचिरहेको छ ।

कम्पनीको स्वामित्व नारायणप्रसाद पौडेल, राजेन्द्रविक्रम पौडेल र डा. धनञ्जय रेग्मीसँग रहेको छ । कम्पनीले काठमाडौ उपत्यकाभित्र लैनचौर, गैरीधारा र कुपण्डोलमा तीनवटा आफ्नै स्वरुमहरु राखेको छ भने कार्यालय लैनचौरमा रहेको छ ।

कम्पनीको व्यापारमा वृद्धि भए पनि मार्जिनमा भने कमी आएको छ । २०२० मा ३.४ प्रतिशत रहेको मार्जिन २०२१ मा २.४ प्रतिशत र २०२२ मा २.१ प्रतिशतमा झरेको छ । २०२३ को ९ महिनामा कम्पनीको मार्जिक १.९ प्रतिशत रहेको छ ।

कम्पनीले ‘सर्ट–टर्म लोन’ सुविधाका लागि रेटिङ एजेन्सीबाट ९६ अर्ब ८० करोडको रेटिङ पाएको छ । एजेन्सीले कम्पनीलाई ‘ए फोर’ रेटिङ दिएको छ ।


क्लिकमान्डु