मारुती सिमेन्टको व्यापार २७.९१ प्रतिशतले घट्यो, करिब ५ अर्बको कारोबार



काठमाडौं । मारुती सिमेन्टको व्यापार अघिल्लो वर्षको तुलनामा घटेको छ ।

आर्थिक वर्ष २०२१ मा ६ अर्ब ८६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको व्यापार २७.९१ प्रतिशतले कम भएको हो । २०२२ मा कम्पनीले ४ अर्ब ९४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीको व्यापार घट्दा मार्जिन पनि घटेको छ । २०२१ मा २२.३० प्रतिशत रहेको कम्पनीको मार्जिन २०२२ मा भने ११.७५ प्रतिशतमा सीमित भएको छ ।

१९९४ मा सञ्चालनमा आएको मारुती सिमेन्ट प्रालीलाई हालको सञ्चालन समितिले २००५ मा स्वामित्व लिएको थियो । राठी ग्रुप र गोयल ग्रुपको स्वामित्वमा रहेको कम्पनीले नेपालमा सिमेन्टको उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीको कारखाना सिराहाको मिर्चैयामा रहेको छ ।

मारुती सिमेन्ट लिमिटेडले २०२२ को व्यापारभन्दा धेरैको कर्जाका लागि रेटिङ पाएको छ । रेटिङ एजेन्सीले कम्पनीलाई ५ अर्ब ५५ करोड ६५ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ दिएको छ । जसमा दीर्घकालिन कर्जा सुविधाका लागि ४ अर्ब ४८ करोड ६० लाख रुपैयाँमा त्रिपल बि रेटिङ र १ अर्ब ७ करोड ४ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधामा ए थ्रि रेटिङ कम्पनीले पाएको छ ।


क्लिकमान्डु