आईपीओ निष्कासनको तयारीमा रहेको नर्भिकको कमाइ ३३ प्रतिशतले बढ्यो



काठमाडौं । बुक बिडिङ प्रणालीबाट साधारण सेयर (आईपिओ) निष्कासनको तयारीमा रहेको नर्भिक अस्पतालको कमाई ३३ प्रतिशतले बढेको छ । नर्भिकको कमाई सन् २०२१ को तुलनामा सन् २०२२ मा ४५ करोड ३० लाख रुपैयाँले बढेको हो।

नर्भिकले सन् २०२१ मा १ अर्ब ३६ करोड रुपैयाँ कमाएको थियो । सन् २०२२ मा अस्पतालले १ अर्ब ८१ करोड ३० लाख रुपैयाँ कमाएको छ । सन् २०२० मा अस्पतालको कमाइ १ अर्ब २५ करोड १० लाख रुपैयाँ थियो ।

सन् १९९२ मा स्थापना भएको नर्भिक अस्पताल २ वर्षअघि सन् २०२१ जुलाईबाट पब्लिक कम्पनी बनेको थियो । १४० बेड क्षमतामा रहेको नर्भिकले अहिले आफ्नो बेड क्षमतालाई विस्तार गर्ने तयारीमा रहेको छ ।

अस्पतालले २ अर्ब ९४ करोड ३७ लाख रुपैयाँसम्मको ऋणको रेटिंग गराएको छ, जसमध्ये २ अर्ब ८३ करोड ७८ लाख रुपैयाँ दीर्घकालिन कर्जा सुविधाका रुपमा रहेको छ भने १० करोड ५८ लाख रुपैयाँ अल्पकालिन कर्जा सुविधाका रुपमा रहेको छ । रेटिंग एजेन्सीले दीर्घकालिन कर्जा सुविधाका लागि नर्भिकलाई ‘त्रिपल बि’ रेटिंग दिएको छ भने अल्पकालिन कर्जा सुविधाका लागि ‘ए थ्रि प्लस’ रेटिङ दिएको छ ।

बेड क्षमतालाई विस्तार गर्दा ३० साधारण शैय्या र ३० आपतकालिन शैय्या थप्ने योजना छ भने ४० वटा पुराना साधारण शैय्यालाई स्तरोन्नती गराउने नर्भिकको तयारी रहेको छ । हाल १४० क्षमतामा रहेको अस्पताल यसपश्चात २ सय बेड क्षमताको हुनेछ । यसका लागि अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ लाग्ने देखिएको छ, जसमध्ये ४८ करोड साझेदारीहरुमार्फत र १ अर्ब ९० करोड भने कर्जाका रुपमा लिइने छ ।

विस्तारका लागि आवश्यक रकममध्ये १ अर्ब ५० करोड रुपैयाँको ऋण प्राप्त भइसकेको छ भने सन् २०२३ को जुलाईसम्ममा विस्तारको काममा १२ प्रतिशत वित्तिय प्रगती भएको अस्पतालले जनाएको छ । विस्तारको काम सन् २०२५ मा सकिने बताइएको छ ।

तीन दशक पुरानो अस्पतालका रुपमा रहेको नर्भिकको ५१ प्रतिशत सेयर हाल बिएलसि होल्डिङ्ससँग रहेको छ । त्यस्तै, उक्त कम्पनीका अध्यक्ष बसन्त कुमार चौधरी अस्पतालको ४२ प्रतिशत सेयर रहेको छ । सन् २०२३ को अप्रिलमा भएअनुसार अस्पतालअन्तर्गत १५० डाक्टर र ८५० मेडिकल स्टाफहरु कार्यरत छन् ।


क्लिकमान्डु