६ अर्ब लगानीमा क्यान्सर हस्पिटलसहित २ नयाँ हस्पिटल बनाउँदै नर्भिक, अर्को वर्ष आईपीओ



काठमाडौं । तीन दशकअघि नर्भिक हेल्थ केयर एण्ड रिसर्च सेन्टर स्थापना हुँदा नेपालमा निजी क्षेत्रका अस्पतालहरु खासै थिएनन् ।

सन् १९९३ मा नर्भिक अस्पताल शुरु भएको ४ वर्षपछि भारतको प्रतिष्ठित ‘एसकोर्ट हर्ट इस्टिच्युट’ सँग सहकार्य गर्‍यो । भारतको विश्वसनीय अस्पतालका विज्ञ डाक्टर नर्भिकमा आउन थालेपछि यसको चर्चा भयो ।

जतिबेला २५ बेडको यस अस्पताललाई मुटुको अस्पताल भनेर चिनिन्थ्यो । धेरैपछिसम्म पनि मुटुको अस्पताल भनेर परिचय बनायो ।

अस्पतालले विस्तारै अन्य सेवाहरु थप्दै गयो । अहिले लगभग सबै किसिमका सेवाहरु उपलब्ध छन् र नर्भिक इन्टरनेसनल हस्पिटलबाट परिचित छ । जुन ‘ब्रान्डेट’ हस्पिटल बनेको छ ।

हरेक वर्ष नयाँ नयाँ सेवा सुविधा थप्दै गएको नर्भिकले गएको वर्ष साउनमा आइभीएफ सेन्टर सञ्चालनमा ल्यायो भने सोही वर्ष डर्माटोलोजी एण्ड कस्मेष्टिक सेन्टर स्थापना गर्यो । यसले छालासँग सम्बन्धित सबै किसिमको उपचार गर्छ ।

२५ बेडबाट शुरु भएको नर्भिक अहिले २०० बेडमा पुगेको छ । थापाथलीमा रहेको नर्भिकले आगामी वर्षमा थप क्यान्सर अस्पताल बनाउने काम अगाडि बढाइसकेको छ । साथै, विराटनगर र भैरहवामा एक एक नयाँ अस्पताल बनाउने योजनामा अगाडि बढेको छ ।

यी सबै अस्पताल निर्माण र सेवा विस्तारमा ६ अर्ब रुपैयाँ लगानी गर्ने योजना रहेको नर्भिक इन्टरनेसनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले बताए ।

‘हामीले क्यान्सर हस्पिटल बनाउन शुरु गरिसकेका छौं,’ मिश्रले क्लिकमाण्डूसँग भने, ‘यसमा क्यान्सरका सम्पूर्ण सेवा उपलब्ध हुनेछन् ।’

क्यान्सर उपचारको लागि भनेर बनाउन लागिएको भवनमा थप एक सय बेड हुनेछन् । योसँगै नर्भिक अस्पतालमा ३०० बेड हुनेछन् । नयाँ क्यान्सर हस्पिटलको लागि २ अर्ब २५ करोड रुपैयाँ लगानी हुनेछ ।

क्यान्सर अस्पतालसँगसँगै अंग प्रत्यारोपण जस्तैः लिभर, किड्नी प्रत्यारोपण सेवा पनि शुरु हुने मिश्रले बताए ।

क्यान्सर हस्पिटलको निर्माणकार्य सम्पन्न भएपछिको अर्को योजना छ, पूर्व र पश्चिममा थप दुई नर्भिक अस्पताल बनाउने ।

‘पूर्व विराटनगर र पश्चिम भैरहवामा सय–सय बेडको अस्पताल बनाउने तयारीमा छौं,’ मिश्रले भने, ‘क्यान्सर अस्पतालको काम सकिए लगत्तै ति अस्पताल बनाउन शुरु गर्छौं ।’

पाँच वर्षमा ५ सय बेडको हस्पिटल बनाउने योजनामा छन् नर्भिक । काठमाडौं बाहिरको अस्पतालमा मोटामोटी ३ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान छ ।

कोभिडको पहिलो वर्ष नोक्सानमा गएको अस्पतालले अघिल्लो वर्ष हस्पिटलले ५० प्रतिशत लाभांश बाँडेको थियो । गत वर्षमा पनि ५० प्रतिशत लाभांस बाँड्न सकिने अवस्था रहेको मिश्रले बताए ।

चुक्ता पँुजी साढे २२ करोड रहेको यस अस्पतालले गत आर्थिक वर्षमा १२ करोड रुपैयाँ खुद नाफा निकालेको थियो ।

गत आर्थिक वर्षमा १६० करोडको कारोबार गरेको छ । यो वर्ष २ सय करोड रुपैयाँ कटाउने योजना छ । चलिरहेको अस्पतालको जग्गाबाहेकको सम्पत्तिको मूल्यांकन डेढ अर्ब रुपैयाँ रहेकोको मिश्रको भनाइ छ ।

८७० कर्मचारी रहेको अस्पतालको ओपीडीमा दैनिक औषत ६ सय बिरामी आउँछन् । आइपीडीमा ८० को हाराहारीमा आइरहेका छन् ।

हस्पिटल धेरै नाफा नहुने सेवा हो भन्छन् मिश्र । यसमा डाक्टर, उपकरण र सहयोगी कर्मचारीको धेरै ठूलो सहभागिता हुन्छ ।

उपकरण खरिदमा पनि ठूलो रकम खर्च हुन्छ । एउटा एमआरआई १८ करोड रुपैयाँसम्म पर्छ । क्यान्सरका लागि किन्न लागेको एक उपकरणको मूल्य लिनियर एक्सिलेटर लिन्याप भन्ने रेडियसको लागि जसलाई ३० करोड रुपैयाँसम्म परेको मिश्र बताउँछन् ।

आजको दिनमा ४ वटा अप्रेसन थिएटर छन् । दैनिक झन्डै एक अप्रेसन हुन्छन् ।

शनिबार सीएसआरअन्र्तगत ओपीडीमा निःशुल्क परीक्षण भइरहको मिश्रले बताए । अर्को शनिबार फलोअपमा आउँदा पनि निःशुल्क हुन्छ । उनका अनुसार दैनिक ३०-४० जना यस्तो परीक्षण गर्न आइरहेका छन् ।

व्यवसायीक घराना चौधरी ग्रुपले स्थापना गरेको नर्भिक अस्पताल वसन्त चौधरीले यहाँसम्म ल्याएका छन् । अहिले वसन्तकी छोरी मेगा चौधरी प्रबन्ध निर्देशक छिन् । उनले नै अस्पताल चलाइरहेकी छिन् ।

‘ब्रान्डेड’ हस्पिटल

२९ वर्षदेखि सञ्चालनमा रहेको अस्पतालले आफ्नो विशेष किसिमको ब्राण्ड भ्यालु बनाएको छ । शुरुदेखि नर्भिकले उच्च कहलिएका डाक्टरलाई भर्ना गर्यो ।

सबै किसिमका सेवाहरु उपलब्ध गरायो र उच्च गुणस्तरको सेवामा ध्यान दियो । काठमाडौंको थापाथली जस्तो सेन्टरमा अस्पताल हुनु, २९ वर्षको विश्वसनीय ब्रान्ड भ्यालु हुनु र कार्डियोलोजी, पल्मलोजी, न्युरो जस्ता केही सेवामा अब्बल भएकाले नर्भिकले ब्रान्डेड अस्पताल भनेर चिनिएको उनी बताउँछन् ।

अष्ट्रेलिया र न्युजिल्याण्ड जाने व्यक्तिले मेडिकल चेकअप गर्न आधिकारिक सेन्टरका रुपमा आइओएमसँगै नर्भिक पनि रहेको छ ।

नर्भिक ‘ब्रान्डेट’ हस्पिटल बनिरहँदा सेवा सुविधाहरु महंगो भएको गुनासो पनि आइरहन्छ ।

नर्भिक अस्पताल उपलब्ध सेवा र सुविधाअनुसार महंगो भन्न नमिल्ने मिश्र बताउँछन् ।

‘बाहिर नर्भिक महंगो छ भन्ने गलत कुरा हावी छ,’ मिश्रले भने, ‘हाम्रो अस्पतालमा हेर्नुस् ८० प्रतिशत विरामी मध्यम र निम्न वर्गका आइरहेका छन् ।’

नर्भिक अस्पताल शुरु हुँदा मुलुकमा सरकारी अस्पतालमात्र थिए । सरकारी सेवा धेरै सस्तो र कतिपय निःशुल्क पनि थिए । त्योबेला निजी क्षेत्रबाट आउँदा धेरैले महंगो भनेर बुझेको मिश्र बताउँछन् ।

‘अन्य निजीसँग तुलना गर्ने हो भने नर्भिक हस्पिटल महंगो छैन,’ मिश्र भन्छन्, ‘यहाँ दैनिक ३३ सयदेखिका बेड उपलब्ध छन् ।’

उच्च ओहोदा र उच्च व्यक्तित्वहरु उपचार गर्न जाने भएकाले पनि महंगो भएको प्रचार भएको उनको भनाइ छ । यस अस्पतालमा राजपरिवारदेखि प्रधानमन्त्री, नेता, कलाकार जस्ता समाजका प्रतिष्ठित व्यक्तिहरुले उपचार गराएका छन् ।

यसले घाटा र नाफा दुवै छ । पहिलो कुरा त ठुलाबडा जाने भनेपछि महंगो होला भन्ने सबैलाई परेको छ । अर्को कुरा यस हस्पिटलमा राम्रो भएकाले पनि सबै जान्छन् भन्ने पनि परेको छ ।

उच्चपदस्त वा विशेष सुविधा चाहनेका लागि भनेर ‘स्विट रुपम’को व्यवस्था गरिएको छ ।

‘भीभीआईपीको लागि भनेर स्विट रुम पनि बनाएका छौं,’ मिश्रले भने, ‘७० हजारसम्मको दैनिक शुल्क लाग्छ ।’

अस्पतालको पाँचौं तलामा सात महिनाअघि यो रुपमा तयार भएको हो । यस तालमा १० वटा कोठा छन् । त्यसमध्ये दैनिक ७० हजार पर्ने एक रुम छ । जहाँ किचनदेखि पाहुना बस्ने सुत्ते छ्ट्टै कोठा छन् ।

साथै, यस कोठामा बस्नेलाई डाक्टर, नर्स, भान्से, कार्डको छुट्टै व्यवस्था गरिन्छ । त्यस्तै, यस तालमा दैनिक ४० हजार र २२ हजार पर्ने कोठा पनि उपलब्ध छन् ।

यी कोठाहरु वर्षभरीमा १०-१२ प्रतिशतमात्र प्रयोग हुने मिश्र बताउँछन् ।

प्रबन्ध निर्देशक मेगा चौधरी

बुक बिल्डिङबाट आईपीओ ल्याउँदै

अस्पताल विस्तारको योजना बनाइरहेको नर्भिकले आगामी वर्ष बुक बिल्डिङबाट आईपीओ ल्याउने तयारीमा जुटेको छ ।

आईपीओमा ल्याउने तयारी गर्दै २०७७/७८ मा पब्लिक कम्पनी बनेको थियो अस्पताल । बुक बिल्डिङको प्रक्रियाको काम अगाडि बढेको र क्रेडिट रेटिङका काम भइरहेको मिश्रले बताए ।

आइपीओ जारी गर्न लगातार तीन वर्षको व्यालेन्ससिट नाफा हुनुपर्छ । कोरोना संक्रमण शुरु भएको पहिलो वर्ष अस्पतालले घाटा व्यहोर्नु परेकाले आईपीओ ल्याउन एक वर्ष कुर्नु परेको उनको भनाइ छ ।

योजनअनुसार समयमा आइपीओ ल्याएमा नर्भिक नेपालको आईपीओ ल्याउने पहिलो अस्पताल बन्ने छ ।

लामो समयदेखि ब्रान्ड बनाएर व्यवसायी घरानाले चलाइरहेको अस्पताललाई किन आईपीओ ल्याउनु पर्यो त ?

यसमा मुख्य दुई कारण रहेको सीईओ मिश्र बताउँछन् ।

पहिलो, नर्भिकले कर्पोरेट कल्चरलाई विश्वास गर्छ । सर्वसाधरणको सहभगिता भएपछि कर्पोरेट कल्चर र कर्पोरेट गभर्नेन्स बलियो हुने भएकाले आइपीओमा जाने निर्णय भएको उनको भनाइ छ ।

दोस्रो हो, अस्पताल सञ्चालनमा सर्वसाधरणको सहभागिता गराउने चाहना । २९ वर्ष पुरानो अस्पतालको लिगेसीलाई सबै स्टेक होल्डरसमक्ष पुर्याउन चाहको उनले बताए ।

‘पब्लिकमा गएपछि सञ्चालक समिति परिवर्तन हुन्छ,’ मिश्रले भने, ‘यसबाट हुने लाभ सबैले पाउने अवस्था हुन्छ ।’ जनताको अस्पताल हो भन्ने बनाउने चाहना रहेको उनले बताए ।

२० करोड पुँजी रहेको अस्पतालको पुँजी ५० करोड रुपैयाँ पुर्याउने योजना रहेको पनि उनले सुनाए ।


सन्तोष न्यौपाने