भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि बढ्ने



काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

भारतीय आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

उनकाअनुसार पेट्रोलमा करिब सँवा ८ रुपैयाँ, डिजेलमा करिब ७ रुपैयाँ, मट्टितेलमा साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ । त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक सय रुपैयाँले घटेर आएको छ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यलाई स्वाचालित प्रणाली लागू गरेको छ । उक्त स्वाचालित प्रणाली अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य स्वतः बढ्नेछ ।

निगमले यसअघि नै एलपीजीमा नाफा घाटा नराख्ने व्यवस्था गरेको छ । त्यस्तै, डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राख्ने व्यवस्था गरेको छ । सोहीअनुसार निगमले नाफा कमाउने उनको भनाइ छ ।


क्लिकमान्डु