भारतले कच्चा पेट्रोलियम पदार्थमा बढायो कर, नेपाललाई कस्तो असर पर्छ ?



एजेन्सी । भारत सरकारले कच्चा पेट्रोलियम पदार्थ (पेट्रोलियम क्रुड)मा लाग्ने करलाई बढाएको छ ।

भारत सरकारले अप्रत्याशित र औसतभन्दा माथिको नाफा भएमा विशेष उद्योगहरूमा लगाइने उच्च कर (विन्डफल ट्याक्स) बढाएको हो । जसअनुसार यसअघि १६ सय भारतीय रुपैयाँ रहेको कर अब ४ हजार २५० रुपैयाँ प्रतिटन पुगेको छ ।

भारत सरकारले कर बढाएसँगै भारतबाट निर्यात हुने डिजेलमा पनि कर लाग्ने भएको छ । यसअघि निर्यातमा लाग्ने शुल्क शून्य रहेको डिजेलमा अब प्रतिलिटर एक भारतीय रुपैयाँ लाग्ने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

रोयटर्सकाअनुसार अगस्ट १ गतेदेखि यो कर लागु हुनेछ । पेट्रोल र हवाई इन्धनको निर्यातमा भने कुनै पनि शुल्क बढाइएको छैन ।

डिजेलको निर्यात शुल्कमा प्रति लिटर १ रुपैयाँ भएको शुल्कले भारतीय उपभोक्तालाई फरक नपर्ने भए पनि भारतबाट निर्यात भएर पुग्ने गन्तव्य मुलुकका उपभोक्तालाई भने यसले असर गर्नेछ ।

नेपालले भारतीय आयल कर्पोरेसनसँग पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । भारतले कर बढाएसँगै त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले आईओसीसँग पाँच वर्षका लागि पेट्रोलियम पदार्थ आयात गर्ने सम्झौता भएकाले कर लाग्ने/नलाग्ने विषय एकिन नभएको बताए । आईओसीसँग कुरा भएपछिमात्र यसबारे थप स्पष्ट हुने उनको भनाइ छ ।


क्लिकमान्डु