जीराको मूल्य दोब्बरले किन बढ्यो ?



काठमाडौं । भारतीय बजारमा जीराको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । भारतमा उत्पादन कम हुँदा भारतीय बजारमा जीराको मूल्य प्रति क्वीन्टल ५० हजार भारतीय रुपैयाँभन्दा माथि पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य काम भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भारतीय बजारमा अपेक्षाभन्दा निकै कम जीरा उत्पादन हुँदा भारतीय बजारमा नै प्रतिकेजी ५ सय रुपैयाँमा बिक्री वितरण भइरहेको छ । भारतीय बजारमा जीराको मूल्यले नयाँ रकर्ड कायम भएसँगै त्यसको प्रत्यक्ष नेपाली बजारमा देखिएको छ ।

नेपालले मसलाजन्य वस्तु अधिकांश भारतबाट आयात गरी बजारको माग धान्दै आएको छ । नेपाली व्यवसायीहरुले अर्बौ रुपैयाँको जीरा आयात गर्ने गरेको सरकारी तथ्याङ्क छ । भारतीय बजारमा जीराको मूल्यले नयाँ रेकर्ड कायम भएसँगै नेपालमा पनि तीन महिनाको अवधिमा मूल्य दोब्बरले बढेको छ ।

नेपाल खुद्रा व्यापार संघअनुुसार गत वैशाखसम्ममा नेपाली बजारमा प्रतिकेजी ६ सय रुपैयाँ बिक्री वितरण भइरहेको थियो । तर, अहिले उक्त मूल्य बढेर प्रतिकेजी १२ सय रुपैयाँमा बिक्री वितरण भइरहेको संघका कार्यकारी समिति रोशन शाहीले बताए । उनकाअनुसार भारतीय बजारमा नै प्रतिकेजी ७ सय रुपैयाँ कायम भएकाले नेपाली बजारमा सोहीअनुसार बढ्दै गएको छ ।

‘नेपालले अधिकांश जीरा भारतबाट आयात गर्दै आएको छ । जसले गर्दा भारतीय बजारको आधारमा नेपालमा मूल्य तय हुन्छ,’ उनले क्लिकमान्डुसँग भने, ‘पछिल्लो समय जीराको मूल्य निरन्तर बढेर प्रतिकेजी १२ सयदेखि १२ सय ५० रुपैयाँमा बिक्री वितरण भइरहेको छ ।’

त्यस्तै, नेपाली बजारमा जीराको धुलो भने प्रतिकेजी १३ सय ५० रुपैयाँमा बिक्री वितरण भइरहेको छ । त्यसैगरी, भारतीय बजारमा हालसम्म पनि जीराको मूल्य बढ्ने क्रम रोकिएको छैन । आगामी दिनमा झनै बढ्ने संघले जनाएको छ । तर, धनियाबाहेक अन्य मसलाजन्यको मूल्यमा भने खासै नबढेको उनको भनाइ छ

नेपालले गत आर्थिक वर्षमा मात्रै २ अर्ब २ करोड ५ लाख रुपैयाँको ६० लाख ९७ हजार केजी जीरा आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । त्यस्तै, नेपालले उक्त आयातित जीराबाट ३७ करोड २९ लाख रुपैयाँको राजस्व संकलन गरेको छ ।

विभागअनुसार नेपालले भारतबाट मात्रै २ अर्ब १ करोड ३९ लाख रुपैयाँको ६० लाख ४३ हजार केजी जीरा आयात गरेको छ । त्यसबाहेक अन्य टर्कीबाट ६५ लाख ३१ हजार रुपैयाँको ५४ हजार केजी र बेल्जियमबाट ६३ हजार रुपैयाँको र कतारबाट ३ हजारको जीरा आयात गरेको छ ।

नेपालमा जीरा उत्पादन शून्य

नेपालीहरुलाई भान्सामा नभई नहुने मसला भने नेपालमा उत्पादन हुँदैन । सरकारी तथ्याङ्कअनुसार अन्य मसलाजन्य वस्तुको उत्पादन भएपनि जीराको भने उत्पादन नभएको आर्थिक सर्वेक्षणले देखाएको छ । आर्थिक सर्वेक्षणमा नेपालमा मसलाबाली ७३ हजार ४९३ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको छ । मसलाबालीमा अलैंची, अदूवा, लसुन, बेसार र खुर्सानी उक्त क्षेत्रफलमा उत्पादन हुँदै आएको सर्वेक्षणमा उल्लेख छ ।

गत आर्थिक वर्षमा नेपालमा सरकारले ५ लाख ९१ हजार २६३ मेट्रिक टन मसलाबाली उत्पादन हुने अनुमान गरेको थियो । गत वर्षमा ९६ सय मट्रिक टन अलैंची, २९ हजार ५८० मेट्रिक टन अदूवा, ८२ हजार ४८४ मेट्रिक टन लसुन, १ लाख २४ हजार ६८८ मेट्रिक टन बेसार र ७८ हजार ६९२ मेट्रिक टन खुर्सानी उत्पादन हुने अनुमान गरेको थियो ।

त्यस्तै, नेपालमा आर्थिक वर्ष २०७८/७९ मा ५ लाख ६६ हजार २६२ मेट्रिक टन, आव २०७७/७८ मा ५ लाख ८५ हजार ४७८ मेट्रिक टन, आव २०७६/७७ मा ५ लाख ५० हजार २८१ मेट्रिक टन, आव २०७५/७६ मा ५ लाख २ हजार ७६५ मेट्रिक टन र आव २०७४/७५ मा ४ लाख ७४ हजार मेट्रिक टन मसलाबाली उत्पादन भएको सर्वेक्षणमा उल्लेख छ ।


अरिष्मा मोक्तान