निर्माण व्यवसायीले मागे अर्थमन्त्रीको राजीनामा



काठमाडौं । नेपाल निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा प्रकाशशरण महतको राजीनामा माग गरेका छन् । निर्माण कार्यको म्याद थप गर्न माग गर्दै उनीहरुले त्यसक्रममा प्रदर्शनसमेत गरे ।

शुक्रबार काठमाडौंको माइतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरुले अर्थमन्त्री महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन् ।

निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिएको भन्दै उनीहरुले राजीनामा माग गरेको बताए ।

सरकारले काम सम्पन्न भएका आयोजनाको ५० अर्ब भुक्तानी नगरेको निर्माण व्यवसायीको भनाइ छ ।

अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरुले निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्ने प्रतिवद्धता जनाए पनि असार मसान्तसम्म भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको, मजदुरलाई पारिश्रमीक दिन नसकेको लगायतका समस्या झेल्नुपरिरहेको भन्दै सरकारले भुक्तानी गर्न नसके तत्काल यस्ता आयोजनाहरु खारेज गर्नुपर्ने उनले माग गरे ।

निर्माण व्यवसायीहरुसँग सम्झौता गरेर भुक्तानी गर्न सक्दिन भन्न सरकारले नपाइने उनको भनाइ थियो । लामो समयदेखि निर्माणको काम ठप्प भइरहेको र यसको प्रमुख कारण सरकारले काम गर्ने वातावरण बनाउन नसकेको आरोप सिंहको थियो ।

बिरोध कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष रामजी पन्तले निर्माण सम्बन्धी सम्झौता सरकारले गर्ने र व्यवसायीहरुलाई बजारबाट ऋण उठाएर निर्माण गर्न लगाउने तर सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसाय नै धरापमा परेको बताए । भुक्तानी दिन नसक्ने अर्थमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने उनको माग थियो ।

व्यवसायीहरुले माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर्, मूल्य समायोजन तुरुन्त कार्यान्व्यन गर्, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर्, निर्माण कार्यको म्याद थप गर्, व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराउ लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।


क्लिकमान्डु