विनोद चौधरीको प्रश्न: बैंकमा अधिक तरलता हुँदा पनि ब्याजदर किन घट्न सकेको छैन ?



काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजस्व संकलनको अवस्था डर लाग्दो रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद चौधरीले असार १७ गतेसम्म ९ खर्बको हाराहारीरमा मात्रै राजस्व संकलन हुनु र सरकारको साधरण खर्च १० खर्बभन्दा बढी हुनु गम्भीर स्थिति भएको बताए ।

सरकारले नै अर्थतन्त्र चलायमान बनाउन नसकेको स्वीकार गरेकाले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको उनले बताए ।

राष्ट्र बैंकले लगाएको आयात प्रतिबन्ध खोल्ने काम भए पनि आयात बढ्न नसक्दा समग्र अर्थतन्त्र चलायमान हुन नसकेको उनको भनाइ छ । चौधरीले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीका कारण देशभित्र लगानी बढ्न नसकेको उल्लेख गरे ।

चौधरीले यसो भने-

सरकारको राजस्व उठ्ने तस्बिर हेर्दा अत्यन्तै डर लाग्दो अवस्था छ । असार १७ गतेसम्म ९ खर्बको हाराहारीरमा मात्रै उठ्नु र हाम्रो साधरण खर्च नै १० खर्ब रुपैयाँ भन्दा बढी हुनु गम्भीर स्थिति छ । हामी सबैले स्वीकार गरेका छौं अर्थतन्त्र अझै पनि चलायमान भएन ।

राष्ट्र बैंकले लगाएको आयात प्रतिवन्ध खोल्ने काम पनि भयो । आयात बढेको छैन । तर पनि समग्र अर्थतन्त्र चलायमान किन हुन सकेको छैन । लगानी किन हुन सकिरहेको छैन । किन कस्ट अफ डुईङ बिजनेस घट्न सकिरहेको छैन । सरकारको सबै भन्दा बढी चासोको विषय यही हो ।

आउने दिनहरुमा सरकारले गर्ने छलफल अर्थतन्त्रलाई चलायमान बनाउने र लगानी बढाउनेतर्फ हुनुपर्छ । आउने दिनहरुमा लगानीलाई कसरी प्रोत्साहन गर्ने र अहिले बैंकहरुसँग निक्षेप तथा कर्जाको रेसियो ८३ प्रतिशतमा झरेको छ । यस्तो रेसियो न्यूनतम ९० प्रतिशत हुनुपर्छ । किन बैंकहरुले ऋण दिन सकिरहेका छैनन् । बैंकहरुसँग ठूलो तरलता हुँदा पनि ब्याजदर किन घट्न सकेको छैन । के हो राष्ट्र बैंकको नीति ? वित्तीय संस्थाहरु मुलुकको अर्थतन्त्र चलायमान बनाउने गरी बसेका हुन्छन् । त्यहाँ देखिएको एक प्रकारको अन्तरबिरोधका विषयमा सरोकारवाला निकायहरुलाई पनि बोलाएर छलफल गर्नुपर्छ ।


क्लिकमान्डु