
एजेन्सी । गुगलको मातृ कम्पनी अल्फाबेट यस वर्षको उत्कृष्ट प्रदर्शन गर्ने स्टकहरूमध्ये एक भएको छ ।
यो झण्डै ७० प्रतिशतले बढेको छ र अहिले यसको बजार पुँजीकरण ३८ खर्ब डलर पुगेको छ ।
यस कम्पनीले सम्भवतः अहिलेसम्मकै सबैभन्दा लाभदायक स्टार्टअप लगानीहरूमध्ये एक पनि गरेको छ । त्यसको प्रतिफल अर्को वर्ष प्राप्त हुन सक्छ ।
सन् २०१५ मा गुगलले इलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्समा करिब ७ प्रतिशत हिस्सेदारीका लागि लगभग ९० करोड डलर लगानी गरेको थियो । त्यतिबेला स्पेसएक्सको मूल्य १२ अर्ब डलर थियो ।
अहिले स्पेसएक्सले अर्को वर्ष १५ खर्ब डलरको आईपीओ ल्याउने योजना बनाइरहेको बताइएको छ । त्यसले गुगलको हिस्सेदारीको मूल्य करिब १११ अर्ब डलर पुर्याउनेछ ।
गत बुधबार सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमा, मस्कले स्पेसएक्सको आईपीओको चर्चालाई पुष्टि गरेको देखियो । त्यसमा उनले आर्स टेक्निका नामक सञ्चारमाध्यमका रिपोर्टर एरिक बर्गरको आईपीओको रिपोर्टलाई सटीक भनेका छन् ।
गुगल जस्तो ठूलो कम्पनीका लागि पनि स्पेसएक्सको सफलताले पहिले नै आम्दानीमा उल्लेख्य प्रभाव पारिसकेको छ ।
यस वर्षको आरम्भमा गुगलले बजारमा बिक्री नहुने इक्विटी सिक्योरिटीहरूबाट ८ अर्ब डलर नाफा भएको रिपोर्ट गरेको थियो । त्यसलाई ब्लुमबर्गले स्पेसएक्सको रूपमा पहिचान गरेको थियो । त्यस नाफाले सन् २०२५ को पहिलो त्रैमासिकमा गुगलको खुद आम्दानीको २५ प्रतिशत हिस्सा ओगटेको थियो ।
भेन्चर क्यापिटलिस्ट कम्पनी फाउन्डर्स फन्ड र फिडेलिटी सँगसँगै गुगल स्पेसएक्सको सबैभन्दा ठूला बाह्य लगानीकर्ताहरूमध्ये एक हो ।
स्टारलिंकमा केन्द्रित गुगलको सन् २०१५ को लगानी अहिले एक विशाल सफलता हुने निश्चित देखिएको छ । तर, त्यतिबेला यसलाई निकै शंकाको दृष्टिले हेरिएको थियो ।
‘स्याटेलाइट सिग्नलहरू प्राप्त गर्न जमिनमा रहेका एन्टेना र कम्प्युटर टर्मिनलहरू स्थापना गर्ने लागत प्रस्तावित उद्यमले सामना गरिरहेको एउटा ठूलो प्राविधिक र वित्तीय चुनौती हो,’ द वाल स्ट्रिट जर्नलले त्यतिबेला गुगलको लगानीको बारेमा लेखेको थियो ।
‘स्पेसएक्सले कसरी पृथ्वीमा इन्टरनेट सिग्नलहरू पठाउने योजना बनाइरहेको छ भन्ने अर्को अनुत्तरित प्रश्न हो । कम्पनीसँग रेडियो स्पेक्ट्रमको अधिकार रहेको मानिएको छैन ।’
तीमध्ये अधिकांश प्रश्नहरूको जवाफ स्टारलिंकमार्फत दिइएको छ । त्यो अहिले युक्रेनी सेनादेखि युनाइटेड एयरलाइन्ससम्म सबैले प्रयोग गरिरहेका छन् ।
कागजी नाफा बाहेक गुगलको लगानी रणनीतिक फाइदा पनि भएको छ किनकि स्पेसएक्सले स्टारलिंक सञ्चालन गर्न गुगल क्लाउडको उपयोग गरेको छ ।










प्रतिक्रिया