
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अदालतको कार्यदिन हप्तामा ५ दिन बनाइएपछि मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताएका छन्।
कार्यदिन कटौतीले मुद्दा व्यवस्थापनमा जटिलता थपिएको भन्दै उनले यसलाई सन्तुलनमा ल्याउन अदालत क्रियाशील रहेको बताए।
न्यायाधीश पौडेलले थुनुवा भएका मुद्दा, सार्वजनिक सरोकारका विवाद र मानाचामलजस्ता शीघ्र किनारा लगाउनुपर्ने ‘अग्रधिकार’ प्राप्त मुद्दाहरूको व्यवस्थापनमा कार्यबोझ बढेको उल्लेख गरे।
मुद्दाको प्रभावकारी व्यवस्थापनका लागि अदालतको मुद्दा व्यवस्थापन समिति, नेपाल बार एशोसिएशन, महान्यायाधिवक्ता र प्रधानन्यायाधीशबीच नियमित छलफल भइरहेको उनले जानकारी दिए।
अत्यधिक कार्यबोझ र सीमित समयलाई संकेत गर्दै उनले छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने र खुट्टा छोप्दा टाउको देखिनेजस्तै चुनौतीपूर्ण स्थिति भएको टिप्पणी गरे।
पुराना मुद्दाहरूलाई छिटो फर्स्यौट गर्ने र प्राथमिकता प्राप्त मुद्दाहरूलाई न्यायोचित समयभित्रै टुङ्ग्याउन अदालत प्रतिबद्ध रहेको उनले बताए।






प्रतिक्रिया