देउराली बहुउद्देश्यीय सहकारीको फाइल सीआईबीमा
काठमाडौं । बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको देउराली बहुउद्देश्यीय सहकारीको फाइल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा दर्ता भएको छ ।
बचतकर्तालाई कहिले पैसा दिन भाखा सार्दै त कहिले जग्गा दिने प्रलोभन देखाउँदै आएको देउराली सहकारीबारे सीआईबीले अनुसन्धान गर्ने भएको हो ।
बचतकर्तालाई २२ प्रतिशतसम्म ब्याज दिने प्रलोभन दिएर पैसा संकलन गरेको सहकारीले गत असार १ गते सूचना टाँसेर कारोबार बन्द गरेको थियो । त्यसअघि बचतकर्तालाई २५ हजार रुपैयाँमात्र बचत फिर्ता गरेको सहकारीले एकाएक सूचना टाँसेर कारोबार बन्द गरेको थियो ।
सहकारीले कारोबार बन्द गरेपछि बचतकर्ताले असार २ गते महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिए । त्यसपछि सहकारीलाई कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेको छ ।
सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंले बचतकर्ताको रकम दुई भागमा विभाजन गरेर दिने प्रतिबद्धता जनाएपछि लगानीकर्ताले केही समय धैर्य गरेका थिए । तर, लामो समयसम्म पैसा दिन नसकेपछि संस्थाले पैसाको सट्टा जग्गा फिर्ता गर्न थाल्यो ।
सहकारीले कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको गृहम विल्डर्स एन्ड कन्सल्ट्यान्सको नाममा नवलपरासीमा रहेको ४ बिघा १९ कठ्ठा जग्गा पास पनि गरिदियो ।
ठूला बचतकर्तालाई बचतकर्ता प्रतिनिधि कमिटीको रोहवरमा बचत सुरक्षणबापत चेक हस्तान्तरण गरिएको थियो भने साना बचतकर्तालाई आलोपालो दैनिक ५ हजारका दरले संस्थाको ३ वटै शाखाबाट बचत फिर्ता गरिएको थियो ।
सहकारीले विज्ञप्ति जारी गर्दै सम्पूर्ण सदस्यलाई संयमित हुन, सहयोगी बनिदिन, उजुरीबाजुरी तथा चेक बाउन्स नगर्न, काम गर्न असहज नबनाइदिन तथा कर्मचारीलाई तनाव सिर्जना गरिदिने काम नगर्न आग्रह गरेको थियो । तर, लामो समयसम्म कुर्दा पनि बचत रकम फिर्ता नपाएपछि सहकारी विभागले अनुसन्धानका लागि प्रहरीमा उजुरी दिएको हो ।