समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्ः झलनाथ खनाल



काठमाडौं । पूर्वप्रधानमन्त्री नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरुलाई आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले समाजवादी मोर्चा केवल सत्ता टिकाउने मोर्चा मात्रै नबनाउन नेताहरुलाई आग्रह गरे ।

देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई एकतावद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन नसक्ने उनको भनाइ थियो ।

यो समाजवादी मोर्चालाई अझ बिस्तार गर्नु आवश्यक रहेको उनले बताए ।

‘अहिले जुन प्रकारको यो मोर्चा बनेको छ । मलाई लाग्छ यो मोर्चाको निर्माण पहिलो पाइला हो । यो पहिलो पाइला मात्रै हो । सिंगो देशका समस्त देशभक्तहरुलाई, समस्त वामपन्थीहरुलाई, समस्त समाजवादीहरुलाई, समस्त क्रान्तिकारीहरुलाई हामीले एकतावद्ध नगरेसम्म हाम्रो देशमा सही विकल्प निर्माण हुन सक्दैन । त्यसो हुनाले हामीले यो मोर्चालाई अझै व्यापक बनाउनुपर्ने आवश्यकता छ । अझ बिस्तार गर्नुपर्ने आवश्यकता छ । म चारै दलका नेताहरुलाई आग्रह गर्न चाहन्छु कि, यो मोर्चा खालि सत्तालाई टिकाउने मोर्चा मात्रै नबनोस् । यो मोर्चा साँचो अर्थमा आमुल परिवर्तनको मोर्चा बनोस् । यो मोर्चा सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्ने मोर्चा बनोस् । यसरी मात्रै हामी यो देशको भविष्यलाई उज्यालो बनाउन सक्छौँ । देशको भविष्यलाई उज्यालो बनाउने भनेको समाजवादी लोकतन्त्र समाजवादी गणतन्त्रमा पुगेर मात्रै हो । हाम्रो लक्ष्य समाजवादी गणतन्त्र हो । समाजवादी गणतन्त्रमा नपुगेसम्म आजको जुन शोषण, दमन, अन्याय, अत्याचार समाप्त हुँदैनन् । यसकारण यिनलाई समाप्त गर्ने हो भने एकमात्र विकल्प समाजवाद हो’ उनले भने ।


क्लिकमान्डु