वित्तीय सुशासन जोखिम मूल्यांकान: मेलम्ची नगरपालिका प्रथम



मेलम्ची । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकानमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्चीले आर्थिक वर्ष २०७८/७९ को प्रारम्भिक नतिजामा ८९ दशमलव पाँच प्रतिशत अंक प्राप्त गर्दै जिल्ला प्रथम भएको हो ।

मेलम्चीले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२ दशमलव ८६, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ९७ दशमलव ९३, लेखाङ्कन तथा प्रतिवेदनमा शत् प्रतिशत, अनुगमन मूल्यांकान तथा लेखा परीक्षणमा ८१ दशमलव २५ र राजस्व व्यवस्थापनमा ८५ दशमलव २९ प्राप्त गरेको जनाइएको छ । जिल्ला समन्वय समितिले मूल्यांकान गरी अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

सो मूल्यांकानअनुसार जिल्लाको भोटेकोसी गाउँपालिकाले ६५ अंक, जुगल गाउँपालिकाले ५० अंक, पाँचपाखरी थाङ्पाल गाउँपालिकाले ५४ अंक, हेलम्बु गाउँपालिकाले ४१ दशमलव पाँच अंक, चौतारा साँगाचोकगढी नगरपालिकाले ६६ अंक, बलेफी गाउँपालिकाले ६० दशमलव पाँच अंक, बाह्रबिसे नगरपालिकाले ६४ अंक, त्रिपुरासुन्दरी गाउँपालिकाले ६१ दशमलव पाँच अंक, लिसङ्खुपाखर गाउँपालिका ५४ दशमलव पाँच अंक र सुनकोशी गाउँपालिकाले ४२ दशमलव पाँच अंक प्राप्त गरेका छन् । मेलम्चीले आर्थिक वर्ष २०७७÷७८ मा पनि ७१.५ अंक प्राप्त गर्दै पहिलो भएको थियो ।

मेलम्चीले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकानमा ८६ प्रतिशत अंक दाबी गरेको छ । स्वमूल्यांकानको विषय क्षेत्रहरुको समग्र स्थितिमा ९२ दशमलव ८६ प्रतिशत प्रक्रियागत स्थितिमा ८३ दशमलव ८२ परिणात्मक स्थितिमा ८४ दशमलव ४४ प्रतिशत अंक दाबी गरेको छ ।

अब सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसको गुणस्तर परीक्षण गरी नगरपालिकाको अन्तिम नतिजा प्राप्त हुने मेलम्चीको सूचना प्रविधि शाखा प्रमुख अर्पना श्रेष्ठले जानकारी दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले आगामी आवमा दुईवटै मूल्यांकानमा ९० प्रतिशतभन्दा माथि अंक आउने गरी काम गर्ने लक्ष्य लिइएको जानकारी दिए ।

नगरपालिकाको मूल्यांकानपछि नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानले आगामी वर्षहरूमा पनि स्थानीय तहमा प्रथम हुने गरी काम गर्ने बताए ।

सो नगरपालिका लगातार दोस्रोपटक जिल्लामै प्रथम भएको हो । आव २०७८/७९ मा पनि मेलम्ची स्थानीय तह संस्थागत स्वमूल्यांकानमा प्रथम भएको नगरपालिकाले जनाएको छ ।


क्लिकमान्डु