सस्तियो खानेतेल, प्रतिलिटर १९५ रुपैयाँदेखि २१० रुपैयाँमा बिक्री



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा कमी आएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको छ । गत वर्षको यही समयमा प्रतिवुसेल १७ सय ७५ डलरसम्म पुगेको कच्चा भटमासको तेल अहिले १४ सय डलरमा झरेको छ ।

गत फेब्रुअरीदेखि निरन्तर घटेर मार्चसम्ममा आइपुग्दा भटमासको तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिवुसेल १४ सय अमेरिकी डलरमा झरेको छ । त्यस्तै, पाम तेलको मूल्य पनि आधाले घटेको छ ।

गत वर्षको मेमा प्रतिवुसेल ७२ सय अमेरिकी डलर कायम भएको पाम तेलको मूल्य अहिले ३६ सय अमेरिकी डलरमा झरेको छ । भान्सामा अत्यावश्यक वस्तुको रुपमा रहेको तेलको मूल्य घट्दै गएपछि उपभोक्तालाई केही राहत मिलेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्न थालेको छ । तेलको मूल्य प्रतिलिटर २५ रुपैयाँसम्म घटेको छ । करिब २० दिनअगाडि मात्रै प्रतिलिटर तेलको मूल्य २२० रुपैयाँदेखि २२५ रुपैयाँ कायम भएको तेलको मूल्य घटेर प्रतिलिटर १९५ रुपैयाँदेखि २१० रुपैयाँमा बिक्री भइरहेको छ ।

बजारमा विभिन्न ब्रान्डमा विभिन्न प्रकारका तेल बिक्री हुँदै आएको छ । कम्पनीहरुले आफ्नो ब्रान्डअनुसार बजारमा मूल्य तोक्दै आएका छन् । जसले गर्दा उपभोक्ताले आफ्नो रोजाइको तेल खरिद गर्न सक्नेछन् ।

खुद्रा व्यापारी जयराम लोकलले २० दिनयता तेलको मूल्य घटेर आएको बताए । उनका अनुसार एक महिना अघिसम्म भटमासको तेलको मूल्य २२० रुपैयाँ थियो । अहिले प्रतिलिटर १९५ सय रुपैयाँमा झरेको छ ।

त्यस्तै, २० दिन अघिसम्म सूर्यमुखी तेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ रहेकोमा अहिले घटेर २ सय रुपैयाँमा झरेको छ ।

‘अहिले तेल प्रतिकार्टुन २ हजार रुपैयाँमा बिक्री भइरहेको छ,’ उनले भने, ‘तेलको मूल्य घट्दा उपभोक्तालाई राहत मिलेको छ ।’ एक महिनाअघि प्रतिकार्टुन सूर्यमुखी तेलको मूल्य २४ सयदेखि २५ सय रुपैयाँ थियो ।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेपछि नेपालका उद्योगीले पनि घटाउन थालेको बताए । उनका अनुसार अहिले विभिन्न ब्रान्डको सूर्यमुखी तेलको मूल्य प्रतिलिटर २ सय रुपैयाँदेखि २१० रुपैयाँसम्म छ ।

अन्तर्राष्ट्रिय मूल्य निर्धारणले बजारमा प्रभाव पर्छ । गत वर्ष अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा केही दिनमा खाने तेलको मूल्य ह्वात्तै बढेको थियो । तर, घट्दा भने उद्योगीले ढिलो घटाइरहेका छन् ।

‘उद्योगीहरुले अन्तर्राष्ट्रिय बजारमा केही घटना हुनेबित्तिकै नेपालमा हप्ता दिनमै मूल्य बढाउँछन्,’ उनले क्लिकमान्डुसँग भने, ‘मूल्य घट्दा भने महिना दिनमा मात्रै घटाएर पठाउने प्रवृत्ति छ ।’ सरकारले उपभोक्ताको हितमा ध्यान नदिँदा उद्योगीले मूल्य निर्धारणमा मनपरी गरेको उनले बताए ।

गत वर्ष खानेतेलको मूल्य साढे ३ सयभन्दा माथि पुगेको थियो । तेलबाहेक अन्य खाद्यान्नको मूल्य घट्न सकेको छैन । संघले प्राप्त गरेको तथ्यांकमा अहिले तेलको मूल्यबाहेक अन्य खाद्यान्नको मूल्य नघटेको देखिन्छ ।

चालू आर्थिक वर्षको ९ महिनामा अधिकांश तेलको आयात घटेको छ । चालू आर्थिक वर्षको ९ महिनामा भटमासको तेलको आयात ३४.२ प्रतिशतले घटेको छ भने सूर्यमुखी तेलको आयात १९.४ प्रतिशत र पाम तेलको आयात ३९ प्रतिशतले घटेको छ ।


अरिष्मा मोक्तान