नेपालगन्जमा अघोषित लोडसेडिङ, आन्दोलनमा उत्रिने उद्योगीको चेतावनी
नेपालगञ्ज । नेपालगञ्जमा अघोषितरूपमा पटकपटक विद्युत्को लाइन छुटाउँदा उपभोक्ता समस्यामा परेका छन् ।
दिउँसोको समयमा विकास निर्माणका काममा पोल तथा तार सार्दा विद्युत् कटौती हुने गरेको विद्युत् प्राधिकरणले जनाए पनि रातिको समयमा समेत विद्युत् कटौती हुँदा उपभोक्ता मारमा पर्ने गरेका हुन् ।
विद्युत् अनियमित हुँदा सबैभन्दा बढी उद्योगलाई असर परेको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले विद्युत् कटौती बढ्दै गएमा संघ आन्दोलनमा उत्रिने चेतावनी दिए ।
‘हावाहुरीका कारण कहिलेकाहीँ विद्युत् कटौती हुनु स्वभाविक मान्न सकिएला तर पटकपटक जानकारी बिना नै हुने कटौतीले उद्योगमा धेरै मार परेको छ । त्यसो भइरहे हामी सहेर बस्दैनौँ’, उनले भने ।
प्राधिकरणको नेपालगञ्जस्थित लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख इ.हरिप्रसाद पाण्डेले यहाँ विद्युत्को स्रोत टनकपुरबाट मात्रै आउने भएकाले समस्या हुने गरेको बताए ।
आपूर्तिकै कारण हुने कटौतीमा आफूहरुले केही गर्न नसक्ने भए पनि स्थानीय वितरणमा आउने समस्या समाधानका लागि भने प्रयास गरिरहेको उनको भनाइ थियो ।
नेपालगञ्जमा १६ र आठ एमभिएका दुईवटा गरी २४ एमभिएका ट्रान्सफर्मर रहेकामा बसपार्कमा एउटा आठ एमभिएको नयाँ ट्रान्सफर्मर जडान गरिएको प्रमुख पाण्डेले बताए ।
केही दिनअघि जडान गरिएको नयाँ ट्रान्सफर्मरबाट दुईवटा फिडर पनि निकालेर विद्युत् वितरण गर्न थालिएको र यसले ट्रान्सफर्मरमा ओभरलोड भएर हुने विद्युत् कटौती कम गर्ने अपेक्षा गरिएको उनले जानकारी दिए ।
प्रमुख पाण्डेले यो बेलामा विकास निर्माणका कार्य भइरहने र हावाहुरीका कारण आउने समस्याले पनि विद्युत् कटौती हुने गरेको पनि उल्लेख गरे ।
वितरण केन्द्रका अनुसार अहिले कन्डक्टर तारलाई तीनबाट पाँचमा राखिएको, तारलाई छुने अन्य तार र झार काँटछाँट गरिरहेको, फेज थपिएको, ओभर लोड भएको फिडरलाई सवस्टेशनबाट अर्को फिडरमा लैजाने तयारी भइरहेको र ट्रान्सफर्मरको फ्युज जान नदिन एलटी लाइनमा एमसिबी बक्स जडान गरिएको छ ।
विद्युत् लाइन निरन्तर सञ्चालन राख्नका लागि ठाउँठाउँमा डिसकनेक्सन राख्न थालिएको, सवस्टेशनमा रहेको ट्रान्सफर्मर तथा ब्रेकर मर्मत पनि गरिएको र विभिन्न ठाउँका ट्रान्सफर्मर अपग्रेड गरिएको पनि केन्द्रले जनाएको छ ।
बाँकेको खजुरामा सञ्चालनमा आएको १० मेगावाट सौर्य विद्युत्बाट दिउसोको समयमा भोल्टेजको समस्या हटेको छ उक्त विद्युत् दिउँसोको समयमा मात्रै उत्पादन हुने गरेको छ ।