सूचना प्रविधिको प्रयोगमार्फत् नेपाली उत्पादन र सेवाको निर्यात बढाऔंः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन दिई डिजिटल नेपाल बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारको थप साझेदारीका लागि आह्वान गरेका छन् ।
‘राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस-२०२३’ का अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले अर्थतन्त्रलाई डिजिटलाइज गर्न निजी क्षेत्र अगाडि बढिसकेकोले थप सहजीकरण गर्न सरकारसंग आग्रह गरे ।
डिजिटल नेपाल बनाउनको लागि निजी क्षेत्र र सरकारको उल्लेखनीय लगानीको आवश्यकता रहेको उनको भनाइ छ । सूचना प्रविधिको लागि आवश्यक मानवीय संसाधन र प्राविधिक शिक्षा, इन्टरनेटको सहजता र सुलभता हुनु जरुरी रहेको ढकालको भनाइ छ । सूचना प्रविधिको प्रयोगले नेपाली उत्पादन र सेवाको निर्यातलाई बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने भएकोले यसमा सरकार र निजी क्षेत्रबिच थप साझेदारी आवश्यक रहेको बताए ।
महासंघले सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी छुट्टै सूचना तथा संचार प्रविधि विकास समिति गठन गरेको अध्यक्ष ढकालले जानकारी गराए । सूचना प्रविधि क्षेत्रमा लागेका निजी क्षेत्रका व्यवसायीहरुले निरन्तर पोलका समस्या, विद्युतीय शुल्क, अनलाइन पेमेन्ट लगायतका समस्या भोग्नु परेकाले प्राथमिकताका साथ समाधान गर्न अध्यक्ष ढकालले सरकारलाई आग्रह गरे ।
सूचना प्रविधिको उपयोगबाट बढि भन्दा बढि फाइदा लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको स्टार्ट अप पोलिसी तत्काल पारित गर्न, डिजिटल सिग्नेचरलाइ मान्यता दिइ प्रयोगमा ल्याउन, कर, व्याजदर लगायतमा सुबिधा दिएर सूचना प्रविधि हवको बिकासमा सघाउन पनि अध्यक्ष ढकालले सरकारसंग आग्रह गरे ।
प्रविधिबाट कोही वञ्चित नहोस् भन्ने मान्यतामा दृढ रहँदै डिजिटल डिभाइड कम गर्न सूचना तथा संचार प्रविधिलाई थप सहज र सर्वसुलभ बनाउने प्रयासमा सबै क्षेत्रले योगदान गर्नु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।