बालेनलाई शहरी विकास मन्त्रीको जवाफ: फोहोर देखाएर राजनीति गर्नु हुँदैन



काठमाडौं । शहरी विकास मन्त्री सीता गुरूङले फोहोरलाई देखाएर राजनीति नगर्न आग्रह गरेकी छन् ।

मन्त्री गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन् । फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको भएको भन्दै मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कन्ज्युस्याँइ नगर्ने उनको भनाइ थियो ।

‘हामीले समन्वयकारी भूमिका निर्वाह गर्ने कुरामा कुनै पनि कन्ज्युस्याँइ हुँदैन । विगतमा यहाँको फोहोर व्यवस्थापनको निम्ति शहरी विकास मन्त्रालयले समन्वय गरेर बञ्चरेडाँडासम्मको सडक निर्माण र अर्को भौतिक पूर्वाधार संरचना निर्माणको लागि जुन जिम्मेवारी थियो त्यो पूरा गरिसकेको कारणले गर्दा अब हामीले समन्वय गर्ने काम मात्रै हो’ मन्त्री गुरुङले भनिन् ।

सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाको कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागिएको उनले जानकारी दिइन् ।

‘हामीले मन्त्रालयमा छलफल गरेका छौँ । हामी तत्कालै बैठक बसेर एउटा समिति नै तयार गरेर त्यसबाट के गर्न सकिन्छ भन्ने एउटा निर्णय गरेर अगाडी बढ्ने भनेका छौँ । फोहोरलाई देखाएर हामीले राजनीति होइन, निकास दिनुपर्छ । त्यो कुरामा हामी लागि परेका छौँ’ उनले भनिन् ।

संघीय सरकारले सहयोग नगरेको भन्दै महानगरपालिकाका मेयर बाले शाहले सिंहदरबार, बालुवाटार, शितलनिवास लगायतका स्थानको फोहोर नउठाउन निर्देशन दिएसँगै आइतबारबाट ति स्थानको फोहोर उठन सकेको छैन । मेयर शाहको सचिवालयले समस्या समाधान नहुँदासम्म फोहोर नउठाइने बताएको छ ।


क्लिकमान्डु