दुर्गा प्रसाईंलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी, ‘बैंकको ऋण तिर्दिन भन्ने र कालोमोसो दल्नेलाई छाड्दैनौं’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ऋण नतिर्ने र कर्मचारीलाई कालोमोसो दल्ने अभियान चलाइरहेका विवादास्पद मेडिकल कजेल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
सोमबार दिउँसो बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को टोलीसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
‘बैंकबाट ऋण लिएपछि तिर्नुपर्छ, अहिले ज जसले ऋण तिर्दिन भनेर हिँडिरहेका छन्, उनीहरुलाई कानूनी दायरामा ल्याउँछौं,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै छलफलमा सहभागी सिबिफिनका एक सदस्यले क्लिकमान्डुसँग भने, ‘बैंकका कर्मचारीलाई कालोमोसो दल्छु भन्ने र कालोमोसो दल्नेलाई सरकारले कुनैपनि हालतमा छाड्दैन ।’
केही महिनायता दुर्गा प्रसाईंले बैंकको ऋण नतिर्ने र ऋण असूलीमा आएका बैंकका कर्मचारीलाई कालोमोसो दल्ने अराजक अभियान चलाइरहेका छन् । जसकारण बैंकलाई कर्जा असूलीमा समस्या भइरहेको छ । यस्तो अभियान चलाउनेलाई कारबाही गर्न प्रधानमन्त्री प्रचण्डले गृहसचिवलाई सोमबारै निर्देशन दिएका हुन् ।
ब्याजदरको समस्या र समयमा नै ऋण फिर्ता गर्न समस्या पर्यो भने सरकारले सहयोग गर्ने उनको भनाइ थियो ।
‘ब्याजदरका कारण कसैलाई मर्का परेको छ भने सरकारले सुन्छ, उनीहरुलाई राहत हुनेगरी काम गरिरहेका छौं,’ उनले भने, ‘लिएको ऋण तिर्दिन भन्न पाइँदैन । राज्य सहेर बस्दैन ।’
प्रधानमन्त्री प्रचण्डले यसो भनिरहँदा दुर्गा प्रसाईंको नाम भने लिएनन् ।
बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम राय लगायतका पदाधिकारीहरू उपस्थित थिए ।