
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्स र एयर इन्डियाको विमान सिमराको आकाशमा झण्डै ठोक्किने अवस्थामा पुग्दा डिउटीमा रहेका तीन एयर ट्राफिक कन्ट्रोलर(एटीसी) लाई कारबाही गरेको छ ।
प्राधिकरणले तीन जना एटीसीलाई शनिबारदेखि सक्रिय जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
अर्को सूचना जारी नभएसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुपरभाइजर, कोअर्डिनेटर र एक अर्का एटीसीलाई सक्रिय जिम्मेवारी नदिने प्राधिकरणले निर्णय गरेको छ ।
कारबाहीमा परेका तीन एटीसी मध्ये १ जना १० तह, एक ९ तह र अर्का ८ तहका हुन् ।
गत शुक्रबार विहान साढे ८ बजे सिमराको आकाशमाथि नेपाल वायुसेवा निगमको विमान १५ हजार फिट उचाइमा उडिरहेको थियो । त्यतिनै बेला दिल्लीबाट काठमाडौंका लागि उडान भरेको एयर इन्डियाको विमानले मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आइरहेको निगमको जहाजलाई झण्डै ठक्कर दिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अप्रोच कन्ट्रोल टावरमा कार्यरत एटीसीले १९ हजार फिटको उचाइमा उडान भरिरहेको एयर इन्डियाको विमान एक्कासी १५ हजार फिटको उचाइमा झर्दा चेतावनी नदिएको भन्दै थप अनुसन्धानका लागि प्राधिकरणले सक्रिय जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
प्रतिक्रिया