सिमराको आकाशमा नेपाल एयरलाइन्स र एयर इन्डियाको विमान झण्डै ठोक्किए



सांकेतिक तस्वीर

काठमाडौं । नेपाली आकाशमा ठूलो हवाइ दुर्घटना टरेको छ । शुक्रबार विहान साढे ८ बजे सिमराको आकाशमाथि नेपाल वायुसेवा निगमको विमान १५ हजार फिट उचाइमा उडिरहेको थियो । त्यतिनै बेला दिल्लीबाट काठमाडौंका लागि उडान भरेको एयर इन्डियाको विमानले मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आइरहेको निगमको जहाजलाई झण्डै ठक्कर दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अप्रोच कन्ट्रोल टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले एयर इन्डियाको विमानलाई भारतबाट नेपाल प्रवेश गर्दा १९ हजार फिटको उचाइमा आउन अनुमति दिए । तर, उक्त विमान एक्कासी १५ हजार फिटको उचाइमा झर्‍यो । सोही उचाइमा नेपाल वायुसेवा निगमको विमान होल्ड गरिरहेको थियो । उक्त विमानले अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि समय कुरिरहेको थियो ।

क्वालालम्पुरबाट आइरहेको नेपाल एयरलाइन्सको विमान शुक्रबार विहान १५ हजार फिटको उचाइमा उडान गर्दै । स्रोत: फ्लाइट राडार२४

‘दुवै विमान समान उचाइमा उड्न थाले । नेपाल एयरलाइन्सको विमान ८ माइल (१२.८ किमि) अगाडि थियो । विमानको चेतावनी प्रणालीले जहाज ठोक्किन सक्ने सूचना सम्प्रेषण गरेपछि नेपाल वायुसेवा निगमको विमान तल झर्‍यो र एयर इन्डियाको विमान माथि गयो । जसले गर्दा करिब ३ सय ५० यात्रुको ज्यान बच्यो’ विमानस्थलका एक एटीसीले भने, ‘एयर इन्डियाको विमान १९ हजार फिटमा नउडेर किन १५ हजार फिटमा झर्‍यो भन्ने विषयमा अनुसन्धानबाटै खुल्छ ।’

नेपाल एयरलाइन्सको विमानभन्दा ८ माइल पछाडि समान उचाइमा उडान भरिरहेको एयर इन्डियाको विमान । स्रोत: फ्लाइट राडार२४

सर्ट टर्म कन्फ्ल्क्टि अलर्टले विमान दुर्घटना हुनबाट जोगाएको एटीसी बताउँछन् । एयर बसले प्रति घण्टा कम्तिमा ३२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा उडान भर्छन् ।

एक मिनेटमा एयरबसले कम्तिमा ५.५ किलोमिटर दूरी पार गर्छ । दुई विमानको दूरी ८ माइल (१२.८ किमि) मात्रै हुनु निकै जोखिमपूर्ण भएको ति एटीसीले बताए ।

एयर इन्डिया फरक भर्टिकल उचाइबाट एक्कासी तल झरेर नेपाल एयरलाइन्सको जहाजले उडान भरिरहेको समान ‘होरिजेन्टल’ उचाइमा पुग्यो । उड्डयनक्षेत्रका विज्ञहरु समान होरिजेन्टल उचाइमा कम्तिमा ९० नर्टिकल माइलको दूरीभन्दा कममा विमान उडन नमिल्ने बताउँछन् ।

यसअघि फागुन १५ गते बुध्द, कतार र नेपाल वायुसेवा निगमको विमान ठोकिनबाट जोगिएका थिए । काठमाडौं अवतरणका लागि नेपाल वायुसेवाको विमान तयार अवस्थामा रहँदा उक्त जहाजको केीमाथि कतार एयरवेज र तल बुध्द एयरको विमान थिए।

तीनवटै जहाजको फरक १ हजार ५ सय फिटमात्र थियो । कतार एयरको जहाज एक्कासी तल आएपछि निगमको जहाजमा एलर्ट भएको थियो । त्यसपछि निगमका पाइलटले विमानलाई तल झारेका थिए । जसले गर्दा ठूलो दुर्घटना टरेको थियो ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जोखिम विश्लेषण नगरी एटीसीलाई अतिरिक्त समय काम लगाउँदा निरन्तर उड्डयन सुरक्षामा लापरवाही भइरहेको छ ।

एटीसीको क्षमता अभिवृद्धिका लागि निरन्तर तालिम दिन सकिएन भने आगामी दिनमा जोमिख थप बढ्ने देखिन्छ ।


शरद ओझा