शंकर ग्रुपका ६ कम्पनीको बिजनेश: ६५ अर्बको कारोबार, ५९ अर्ब ऋण



काठमाडौं । नेपालको ठूलोमध्येको एक व्यवसायिक घराना शंकर ग्रुपका ६ वटा कम्पनीले सन् २०२३ मा ६५ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । स्टिल, सिमेन्ट, अटोमोबाइल, हस्पिटालिटी, जलविद्युत, एफएमसीजी, बिमा र कृषिलगायत अन्य विभिन्न क्षेत्रमा लगानी रहेको शंकर ग्रुपका ६ वटा कम्पनीले सन् २०२३ मा ६५ अर्ब ६ करोड  ६० लाख रुपैयाँको कारोबार गरेका हुन् ।

शंकर  ग्रुपले सन् २०२०/२१ मा १ खर्ब १० अर्ब रुपैयाँ बराबरको व्यापार गरेको जनाएको थियो । एक खर्ब व्यापार गर्दै शंकर ग्रुप देशकै ठूलो कर्पोरेट हाउस बनेको थियो । उत्पादनमूलक क्षेत्रका उद्योगमा पायोनियर मानिएको शंकर ग्रुपले अहिले पनि वार्षिक १ खर्ब रुपैयाँकै हाराहारीमा व्यापार गर्दै आएको सहजै अनुमान गर्न सकिन्छ ।

शंकर ग्रुपको अधिकांश क्षेत्रमा लगानी छ । तर उक्त ग्रुपको लगानी भएका ६ वटा कम्पनीको कारोबारमात्रै ६५ अर्ब रुपैयाँ बढीको कारोबार गर्दै आएको पाइन्छ । सो आधारमा पनि शंकर ग्रुपको सबै उद्योगको व्यापारको तथ्याङ्क संकलन गरेमा एक खर्ब रुपैयाँ बराबरको कारोबार गर्ने देखिन्छ । र, शंकर ग्रुपको ऋण पनि ९० अर्ब रुपैयाँको ऋण देखिन्छ ।

म्यानमारबाट व्यवसायिक यात्राको सुरु गरेको शंकर ग्रुपले जगदम्बा अटो ग्रुप, जगदम्बा मोटर्स, जगदम्बा स्टील, जगदम्बा सिमेन्ट इन्डष्ट्रिज, शौर्य सिमेन्ट  र रिद्धि सिद्धि  सिमेन्ट कम्पनीबाट मात्रै ६५ अर्ब बढीको व्यापार गरेको हो ।

सन् २०२२ मा सोही कम्पनीहरुले ८३ अर्ब ३७ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२२ को तुलनामा सन् २०२३ मा अर्थतन्त्रमा देखिएको समस्याका कारण व्यापार घटेको ग्रुपले जनाएको छ । संकलित तथ्याङ्क अनुसार ग्रुपले उक्त ६ वटा कम्पनीले सन् २०२२ को तुलनामा सन् २०२३ मा १८ अर्ब ३० करोड ७० लाख रुपैयाँ कम व्यापार गरेको छ ।

कम्पनीअनुसार सन् २०२३ मा आर्थिक मन्दीले उत्पादन गरेको सामग्रीको मागमा कमी आउँदा व्यापारमा उच्च प्रभाव परेको रेटिङमा उल्लेख छ । सन् १९७९ मा शंकरलाल अग्रवालले स्थापना गरेको शंकर ग्रुप नेपालको निजी क्षेत्रको पायोनियर मानिन्छ।

शंकरलालले सुरुको व्यवसायिक यात्रा भने ट्रेडिङबाट गरेका थिए । अहिले शंकर ग्रुप अन्तर्गत ४० वटाभन्दा बढी कम्पनी छन् । उक्त कम्पनीहरुमा १५ हजार बढीले रोजगारी पाएका छन् । ग्रुपको कम्पनीमध्ये सबैभन्दा बढी कारोबार गर्ने कम्पनीको रुपमा जगदम्बा स्टिल रहेको छ । नेपालको सबैभन्दा ठूलो स्टिल उद्योगको रुपमा स्थापित कम्पनीले सन् २०२३ मा ४० अर्ब १७ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । जगदम्बा स्टिलले सन् २०२२ मा ४९ अर्ब ७३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । उक्त तथ्यांक हेर्दा सन् २०२२ को तुलनामा सन् २०२३ मा करिब १० अर्ब रुपैयाँ कम व्यापार गरेको हो । जुन १९ प्रतिशतले कम हो । सन् १९९३ मा स्थापना भएको कम्पनीले केही समयमै ६ अर्ब २ करोड १० लाख रुपैयाँको २ करोड ७० हजार कित्ता सेयर निष्काशन गर्ने तयारी गरेको छ ।

वार्षिक २४ लाख ४४ हजार मेट्रिक टन स्टिलजन्य वस्तु उत्पादन क्षमता भएको कम्पनीले कोल्ड रोल्ड प्रोडक्ट, रोलिङ मिल प्रोडक्ट, वायर प्रोडक्ट र मेल्टिङ प्रोडक्ट उत्पादन गर्दै आएको छ । देशभर एक हजारभन्दा बढी डिलर रहेको कम्पनीले जगदम्बा इ, राइनो ५०० डी, जगदम्बा सुपर शाइन, जगदम्बा गाल्भा प्लस, जगदम्बा वायर ब्रान्डमा आफ्ना सामग्री बिक्री गर्दै आएको छ । त्यसैगरी, कम्पनीले भारतमा पनि उत्पादित वस्तु निर्यात गर्दै आएको छ । सन् २०२२ मा उत्पादनको ०.०८ प्रतिशत हिस्सा निर्यात गरेको कम्पनीले सन् २०२३ मा ५.६३ प्रतिशत हिस्सा निर्यात गरेको उल्लेख छ ।

त्यसैगरी शंकर ग्रुपको जगदम्बा मोटर्सले पनि उच्च व्यापार गर्दै आएको छ । कम्पनीले नेपाली बजारमा टीभीएस र प्रोटोन ब्राण्डको सवारी साधन आयात गरी बिक्री वितरण गर्दै आएको छ । सन् २०१० मा स्थापना भएको कम्पनीले सन् २०२३ मा ७ अर्ब  ८१ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १३ अर्ब ६१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापारमा आर्थिक मन्दीको उच्च प्रभाव परेको देखिन्छ । सरकारले समेत सवारी साधनको आयातमा कडाइ गर्दा व्यापारमा प्रभाव परेको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२१ मा १३ अर्ब १३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । टिभिएस मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता बनेपछि नेपाली बजारमा टिभिएसले बलियो उपस्थिती जनाउँदै आएको छ । त्यस्तै अहिले टिभिएस मोटरसाइकल र स्कुटरको एसेम्बल नेपालमै हुन्छ ।

जगदम्बा अटो ग्रुप कम्पनीले सवारी साधनको एसेम्बल र व्यापार गर्दै आएको छ । जसमा कम्पनीले सन् २०२३ मा २ अर्ब ७३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२१ मा एसेम्बल उद्योग सञ्चालनमा ल्याएको कम्पनीले सन् २०२२ मा ३ अर्ब ४२ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा ७३ करोड  २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

यसबाहेक ग्रुप सिमेन्ट उद्योगमा पछिल्लो समय एग्रेसिभ तरिकाले अगाडि बढेको छ । ग्रुपले अन्य ठूला घरानासँगको सहकार्यमा सिमेन्ट उद्योग सञ्चालन गर्दै आएको छ । ग्रुपले शौर्य सिमेन्ट, रिद्धि सिद्धि सिमेन्ट, जगरदम्बा सिमेन्ट इन्डष्ट्रिजसहित अन्य सिमेन्ट उद्योगमा लगानी गरेको पाइन्छ ।

शौर्य सिमेन्ट इन्डष्ट्रिज शंकर ग्रुपसहित अम्बे ग्रुप, हुलास ग्रुपको संयुक्त लगानी छ । कम्पनीको अध्यक्ष भने सुलभ अग्रवाल हुन् । कम्पनीले सन् २०२३ मा ७ अर्ब ४० करोड ७० लाख रुपैयाँको  व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ७ अर्ब ४२ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ६३ करोड  १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानी रहेको रिद्धि सिद्धि सिमेन्ट कम्पनीले सन् २०२३ मा ५ अर्ब ४९ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन्  २०२२ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ६ अर्ब ३७ करोड रुपैयाँको व्यापार गरेको थियो ।

शंकर ग्रुपले शौरभ ग्रुपसँगको संयुक्त लगानीमा जगदम्बा सिमेन्ट उद्योग सञ्चालन गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ४४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २ अर्ब ६८ करोड २० लाख रुपैयाँ, सन् २०२१ मा २ अर्ब ९२ करोड २० लाख रुपैयाँ र सन् २०२० मा २ अर्ब ४४ करोड रुपैयाँको व्यापार गरेको थियो ।

ग्रुपको निर्माण क्षेत्रसँगै जलविद्युत, होटल, जीवन बीमा र रियलमी मोबाइलको आधिकारिक विक्रेता पनि हो । हाल शंकरका दुई छोराले अधिकांश उद्योग सम्हालेका छन् । शंकरका छोराहरु साहिल अग्रवाल र सुलभ अग्रवालले बुबाले खडा गरेको उद्योगलाई थप नयाँ उचाईमा लैजान प्रयत्न गरिरहेका छन् । साथै उनीहरुले आफ्नो व्यावसायलाई वृहत बनाउका लागि नयाँ-नयाँ क्षेत्रमा लगानी गरिरहेका छन् ।

ग्रुपको जगदम्बा हस्पिटालिटी ग्रुपले नक्सालमा ६ अर्ब ८५ करोड ४० लाख रुपैयाँ लगानीमा ‘हिल्टन काठमाडौं’ निर्माण गरिरहेको छ । जसमा साहिल उक्त कम्पनीमा ९० प्रतिशत स्वामित्व छ ।

५९ अर्बको रेटिङ

शंकर ग्रुपको ६ वटा कम्पनीले ६५ अर्बको व्यापार गर्दा ५९ अर्ब १६ करोड ४४ लाख रुपैयाँको रेटिङ गराएको छ । ग्रुपको जगदम्बा स्टिल कम्पनीमार्फत् दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३५ अर्ब १४ करोड २७ लाख रुपैयाँको रेटिङ गराएको छ ।

त्यसैगरी रिद्धि सिद्धि सिमेन्टले १० अर्ब ७७ करोड ९ लाख रुपैयाँ,  जगदम्बा मोटर्सले ५ अर्ब ३८ करोड ८१ लाख रुपैयाँ र जगदम्बा हस्पिटालिटी ग्रुपले ५ अर्ब २ करोड २० लाख रुपैयाँको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

त्यस्तै ग्रुपको जगदम्बा अटो ग्रुपले १ अर्ब ६० करोड २५ लाख रुपैयाँ र जगदम्बा सिमेन्ट उद्योगल १ अर्ब २३ करोड ८० लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ ।


अरिष्मा मोक्तान