काठमाडौंबाहिर सवा १६ अर्ब लगानीमा ११ वटा तारे होटल, कुन कहाँ बन्दैछन् ?



काठमाडौं । आन्तरिक तथा वाह्य पर्यटनकको बढ्दो क्रममा छ । अहिले मासिक एक लाखको हाराहारीमा विदेशी पर्यटकको आगामन भइरहेको छ । विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकहरुको आगमन बढ्दै जाँदा मोफसलमा लगानीकर्ताहरुले तारे स्तरका होटल निर्माण गरिरहेका छन् ।  

विगतको दिनमा उपत्यका र उपत्यकानजिकका क्षेत्रमा तारे स्तरको होटल निर्माणमा आकर्षित थिए । तर पछिल्ला दिनहरुमा देशका विभिन्न सहरहरुमा पर्यटकलाई लक्षित गर्दै तारे होटलमा लगानीकर्ताहरुले लगानी गरिरहेका छन् ।

निजी क्षेत्रका लगानीकर्ताहरुले पछिल्ला दिनहरुमा लुम्बीनी, चितवन, भैरहवा, बुटवल, झापा, धनगढी, विराटनगर, वीरगञ्जलगायत अन्य स्थानहरुमा तारे स्तरको होटलको कार्यलाई तीब्ररुपमा अगाडि बढाएका छन् ।

देशभरका विभिन्न जिल्ला र स्थानमा होटल निर्माण गरिरहेता पनि क्लिकमान्डुले संकलन गरेको तथ्याङ्कअनुसार ११ वटा स्थानमा १६ अर्ब १३ करोड ७० लाख रुपैयाँमा  तारे स्तरको होटल निर्माण भइरहेको पाइएको छ । उक्त होटलहरु अहिले निर्माणको चरणमा छ । जसमा निर्माण भइरहेको होटलहरु सन् २०२४ देखि २०२७ सम्ममा निर्माण सम्पन्न भई सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् ।

कहाँ-कहाँ बन्दैछन् ?

होटल इस्टर्न नेपाल प्रालिः  कांग्रेस सांसद दिपक खड्काले झापामा पाँच तारे होटल सञ्चालनमा ल्याउने भएका छन् । संखुवासभाबाट निर्वाचित सांसद खड्काको लगानी जलविद्युत क्षेत्रमा पनि छ ।

मेन्छियाम हाइड्रोपावरको अध्यक्षसमेत रहेको खड्काले झापाको धुलावारीमा २ अर्ब १ करोड ४० लाख रुपैयाँ लगानीमा पाँच तारे होटल सञ्चालनमा ल्याउने भएका हुन् ।

झापाको धुलावारीमा होटल निर्माणका लागि १ अर्ब ४३ करोड ४८ लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जा लिने भएको छ । होटल १ लाख १० हजार ४४४ स्क्यावरफिटमा निर्माण भइरहेको छ । उक्त स्थानमा क्यासिना र ब्याङ्क्वेट निर्माण गर्नेछ ।

हालसम्म होटलको निर्माण कार्य ३५ प्रतिशत सम्पन्न भएको छ । निर्माण कार्य ढिला हुँदा आयोजनाको लागत बढेको कम्पनीको भनाइ छ । पाँच तारे होटल इस्टर्न नेपालमा ९८ वटा कोठाको सुविधा हुनेछ । होटलमा फुड र बेभरेज सुविधा, स्वीमिङ पुल, कन्फरेन्स हल र ब्याङ्क्वेट, स्पा र अन्य सुविधा हुनेछ । होटल सन् २०२५ को अक्टोबरबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ।

वेदा हस्पिटालिटी प्रालि: गोल्यान ग्रुपले लुम्बिनीमा पाँच तारे होटल निर्माण गर्ने भएको छ । सन् २०२२ मा वेदा हस्पिटालिटी प्रालिमा दर्ता भएको कम्पनीले लुम्बिनीमा पाँचतारे होटल निर्माण गर्ने भएको हो ।

कम्पनीले लुम्बिनीमा ४ अर्ब ६० लाख रुपैयाँ लगानीमा होटल निर्माण गर्ने भएको हो । २ लाख ९१ हजार ७९१ स्क्वायरफिटमा दुई सय कोठा सुविधाको होटल निर्माण गर्ने कम्पनीले जनाएको छ । होटलमा रेष्टुरेन्ट, स्वीमिङ पुल, स्पा र क्यासिनोको सुविधा हुनेछ । साथै, कन्फरेन्स हल, खाना र बस्नलगायत अन्य विभिन्न सुविधा हुने कम्पनीले जनाएको छ ।

अपस्केल लेजर र वेडिङ डेस्टिनेशनका लागि पाँच तारे रिसोर्टको रुपमा आयोजना सञ्चालनमा ल्याउने कम्पनीको भनाइ छ ।

कम्पनीले आगामी सन् २०२७ को जुलाईदेखि व्यवसायिक कारोबार गर्ने अपेक्षा गरेको छ ।

होटल निर्माणका लागि कम्पनीले ३ अर्ब रुपैयाँ दीर्घकालीन कर्जाको लागि रेटिङ गराएको छ । कम्पनीले २ अर्ब ९८ करोड ८० लाख रुपैयाँ ऋण लिएको छ भने १ अर्ब १ करोड ८० लाख रुपैयाँ कम्पनीले लगानी गर्ने भएको छ । कम्पनीले गत नोभेम्बरसम्ममा जग्गा अधिग्रहण गरी पहिलो चरणको कार्य सम्पन्न गरिसकेको जनाएको छ ।

गोल्यान ग्रुपको कम्पनीहरुको व्यवस्थापन सौरभी गोल्यानले गर्दै आएकी छिन् । सौरभी गोल्यान ग्रुपको निर्देशक हुन् । त्यस्तै, ग्रुपले १५३ वटा कोठाको सुविधाको ‘हायत प्लेस’ पाँच तारे होटल सञ्चालन गरिरहेको छ ।

वेदा हस्पिटालिटीले अन्तर्राष्ट्रिय कम्पनी हायत होटल्स कर्पोरेशनको सहायक कम्पनी हायत इन्टरनेशनल साउथ वेस्ट एसिया लिमिटेडसँग होटल सञ्चालनका लागि सम्झौता गरी फ्रेनचाइज भित्र्याएको छ ।

कर्पोरेशनले ‘हायत रेजेन्सी’ ब्राण्डमा होटल सञ्चालन गर्दै आएको छ । होटलको विश्वभर २० वटा प्रिमियर ब्राण्ड र १३ सय वटाभन्दा बढी प्रोपर्टी ७६ देशमा छन् ।

विश्व सम्पदामा सूचीकृत लुम्बिनीमा पर्यटकको आगमन उच्च हुने गरेको छ । हरेक वर्ष उच्च संख्यामा पर्यटकहरु पुग्ने गरेकाले व्यवसायीहरुले होटल निर्माणमा जोड दिएका छन् । साथै, छिमेकी देश भारतका उत्तर प्रदेश र बिहारमा क्यासिनोमा गरेको कडा नियमहरूले गर्दा भारतीय सीमामा रहेका क्यासिनो गन्तव्यको लागि लुम्बिनी आकर्षक गन्तव्य हो ।

यो क्षेत्र नेपालका लागि कर्पोरेट बैठक, अफसाइट र विवाह गन्तव्यहरूको लागि पनि आकर्षक विकल्प बनेको छ । त्यसैले कम्पनीलाई व्यवसायको लक्ष्य हासिल गर्ने अपेक्षा गरेको छ

होटल सफ्रोन सीके प्रालि: लुम्बिनी प्रदेशको बुटवलमा होटल सफ्रोन सीके प्रालिले पाँचतारे होटल निर्माण गरिरहेको छ । कम्पनीले १ अर्ब ४५ करोड ६० लाख रुपैया लागतमा पाँच तारे होटल निर्माण गरिरहेको हो।

होटल आगामी सन् २०२४ को अप्रिलमा सञ्चालनमा आउने भएको छ । यसअघि २०२३ को नोभेम्बरदेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो । विभिन्न समस्याका कारण निर्माण कार्य ढिला भएकाले सन् २०२४ मा सञ्चालनमा ल्याउने गरी कार्य भइरहेको कम्पनीले जनाएको छ ।

अहिलेसम्म होटलको ६५ प्रतिशत भौतिक र ६१ प्रतिशत वित्तीय प्रगति भएको सफ्रोनले जनाएको छ । होटल निर्माण गर्न ९६ करोड ६० लाख रुपैयाँ ऋण र बाँकी ४९ करोड रुपैयाँ संस्थापकहरूको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ ।

जसमा ९० करोड ५० लाख रुपैयाँ बैंकबाट ऋण प्राप्त भइसकेको कम्पनीले जनाएको छ । होटल ५ हजार ७४६ वर्गमिटरमा फैलिने होटलमा १०७ वटा कोठाको सुविधा हुनेछ ।

पाँचतारे स्तरको होटलमा रेष्टुरेन्ट, स्विमिङ पुल, सम्मेलन र ब्याङकेट हल, स्पा र अन्य सुविधाहरू रहेका छन् ।  होटलको अध्यक्ष चुन्नप्रसाद शर्मा रहेका छन्। उनी यसोदा फूड्सका अध्यक्ष पनि हुन् ।

क्लब चौलानी प्रालि: चौलानी ग्रुपले कैलाली जिल्लाको धनगढीमा सवा एक अर्ब लगानीमा पाँचतारे होटल निर्माण गरिरहेको छ। ग्रुपको क्लब चौलानी प्रालिले १ अर्ब २२ करोड ५० लाख रुपैयाँमा ‘लेमन ट्री होटल’ ब्राण्डमा पाँच तारे होटल निर्माण गरिरहेको छ ।

कम्पनीले चेन होटल लेमन ट्री होटल लिमिटेडसँग सम्झौता गरेर उक्त ब्राण्ड नेपाल भित्र्याएको हो । कम्पनीले होटलमा ८० वटा सुविधासम्पन्न होटल हुने जनाएको छ।

डा. राजेन्द्र केसी अध्यक्ष रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ९५ करोड ६६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९३ करोड ५६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।

होटल निर्माणका लागि ९३ करोड ५० लाख कर्जा र २९ करोड रुपैयाँ लगानी कम्पनीले गर्नेछ । जसमा लगानीकर्ताले हालसम्म १२ करोड ७० लाख रुपैयाँ लगानी गरिसकेको छ । कम्पनीअनुसार लगानीकर्ताले प्रतिबद्धता जनाकएकोमध्ये हालसम्ममा ४३ प्रतिशत लगानी जुटाइसकेको छ ।

त्यस्तै होटल निर्माणका लागि हालसम्ममा ४७ प्रतिशत खर्च भइसकेको कम्पनीको भनाइ छ । पाँच तारे होटलमा रेष्टुरेन्ट, क्याफे, फिटनेश सेन्टर, स्वीमिङ पुल र सौनाको सुविधा दिनेछ । कम्पनीले होटल निर्माण दुई चरणमा निर्माण गर्नेछ । पहिलो चरणमा ३० वटाको स्टयान्डर्ड कोठाको सुविधासहित अल-कार्टे रेष्टुरेन्ट, थकाली रेष्टुरेन्ट, बेकरी क्याफे, स्वीमिङ पुल, व्यायामशाला, स्टिम, सौना, स्पा एण्ड कन्फरेन्स हल हुनेछ ।

दोस्रो चरणमा भने कम्पनीले ५० वटा स्ट्यान्डर्ड, डिलक्स र सुइट कोठा निर्माण गर्नेछ । साथै बैङ्क्वैट र लाइभ क्यासिनो निर्माण गर्ने जनाएको छ । कम्पनीले आगामी जुलाईबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । तर होटल पूर्णक्षमतामा भने आगामी सन् २०२५ को अक्टोबरबाट सञ्चालनमा ल्याउने योजना बनाएको कम्पनीले जनाएको छ ।

सन् २०२४ मा भारतीय कम्पनी लेमन ट्री होटल्ससँग सम्झौता गरेर फ्रेनचाइज भित्र्याएको होटलले भारतीय पर्यटकलाई आकर्षण गर्ने जनाएको छ । लेमन ट्री होटल भारतको सबैभन्दा ठूलो चेन होटल हो । भारतको तेस्रो ठूलो चेन होटल भएको कम्पनीले भारतमा मात्रै ८४ वटा होटल सञ्चालन गर्दै आएको छ । कम्पनीको भारतको ५२ वटा शहरमा ८ हजार ३ सय कोठाको सुविधा दिँदै आएको छ ।

क्यापिटल हिल रिसोर्ट: पर्यटकीय क्षेत्र नगरकोटमा १ अर्ब रुपैयाँ बढी लगानीमा लक्जरियस रिसोर्ट निर्माण हुने भएको छ ।

काभ्रेपलाञ्चोकको नाल्दुममा १ अर्ब ८ करोड ३० लाख रुपैयाँ लगानीमा क्यापिटल हिल रिसोर्ट बन्ने भएको हो । आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरेर क्यापिटल हिल रिसोर्टले अत्याधुनिक सु्विधा सम्पन्न रिसोर्ट निर्माण गरिरहेको हो । होटल निर्माणका लागि लगानीकर्ताले ऋण लिएएका छन् । रिसोर्ट निर्माण गर्न लगानीको अनुपात ७०:३० राखिएको छ ।

रेटिङ कम्पनी केयरका अनुसार कम्पनीले दीर्घकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।

हालसम्ममा रिसोर्ट निर्माणका लागि जग्गा अधिग्रहणको कार्य सम्पन्न भइसकेको छ । त्यस्तै अहिलेसम्ममा १९ प्रतिशत रकम संकलन भइसकेको जनाइएको छ । रिसोर्ट आगामी सन् २०२७ बाट सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।

रिसोर्टमा ८६ वटा कोठाको सुविधा हुनेछ । त्यससँगै आधुनिक सुविधा, फुड र बेभरेज सुविधा, स्वीमिङ पुल, कन्फरेन्स र बैंङ्क्वैट हल, स्पा र अन्य सुविधा हुने जनाइएको छ । रिसोर्ट माधवसुन्दर मल्लले निर्माण गर्न लागेका हुन् ।

शुभ इन्टरनेशनल हस्पिटालिटी प्रालि: विराटनगरको भृकुटी चोकमा १ अर्ब ५१ करोड ६० लाख रुपैयाँको लगानीमा निर्माण भएको पाँचतारे होटल ‘लेमन ट्रि प्रिमियर’ जेठबाट सञ्चालनमा आउने भएको छ ।

शुभ इन्टरनेशनल हस्पिटालिटी प्रालिले निर्माण गरेको होटल आगामी जेठदेखि सञ्चालनमा ल्याउने भएको हो ।

कम्पनीले भृकुटी चोकमा ८० वटा कोठाको सुविधासहित होटल निर्माण गरिरहेको छ । त्यसमध्ये पहिलो चरणमा ५६ वटा कोठाको सुविधासहित जेठबाट सञ्चालनमा आउने भएको हो । भारतको कार्नेसन होटल प्रालिसँग सम्झौता गरेको कम्पनीले ‘लेमन ट्रि प्रिमियर’ ब्रान्डमा होटल सञ्चालन गर्नेछ ।

होटलमा कविता श्रेष्ठको २५ प्रतिशत, विनयमकुमार चौधरी अग्रवालको ३० प्रतिशत, सितादेवी चौधरी अग्रवाल ४० प्रतिशत, गंगा खतिवडाको ५ प्रतिशत हिस्सा छ । कविता श्रेष्ठ अक्ष्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७९ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।

निर्माण कार्य ढिला हुँदा तत्कालका लागि ५६ कोठाको सुविधाका साथ होटल सञ्चालनमा ल्याउने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीले सुरुमा १ अर्ब २८ करोड ४० लाख रुपैयाँ लगानीमा ५६ वटा कोठाको सुविधाको होटल सञ्चालनमा ल्याउने योजना बनाएको थियो । उक्त योजना संशोधन गरेर कम्पनीले ८० कोठाको होटल निर्माण गरिरहेको छ ।

 ले ग्ल्यामर लक्जरी रिसोर्ट एण्ड वेलनेस स्पा प्रालि: कैलाश ग्रुप अफ कम्पनीजले पर्यटकीय नगरी पोखराको साराङकोटमा १ अर्ब ५५ करोड ८० लाख रुपैयाँ लगानीमा पाँच तारे होटल निर्माण गर्ने भएको छ ।

ले ग्ल्यामर लक्जरी रिसोर्ट एण्ड वेलनेस स्पा प्रालिले १ अर्ब ५५ करोड ८० लाख रुपैयाँ होटल निर्माण गर्ने भएको हो । कम्पनीले ८० करोड रुपैयाँ बैंकबाट कर्जा लिई लगानी गर्ने भएको छ नभे ७५ करोड ८० लाख रुपैयाँ कम्पनीले लगानी गर्ने भएको छ ।

सन् २०२३ को जुलाईसम्ममा ७४ प्रतिशत आर्थिक प्रगित भएको होटलको निर्माण कार्य भइरहेको छ ।  कम्पनीले १ लाख ३१ हजार ३ सय ५१ स्क्वायर फिट क्षेत्रफलमा लक्जरी रिसोर्ट बनाउने भएको हो । होटलमा २७ वटा सुइट रुम र ३ वटा भिल्ला बन्नेछ ।

कम्पनीले आगामी २०२४ को सेप्टेम्बरसम्ममा व्यवसायिक करोबार हुने गरी निर्माण गरिरहेको छ ।

टासी गुरुङ अध्यक्ष रहेको कम्पनीले ८६ करोड रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।  होटलमा विभिन्न आधुनिक सुविधासहित फुड एण्ड बेभरेज सेवा, स्वीमिङ पुल,  ज्याकुजी, लाइब्रअरी, मेडिटेशन हल, चिल्ड्रेन प्ले स्टेशन,  कन्फरेन्स र बैंक्वैट हल, स्पा र अन्य सुविधा हुनेछ ।

ग्रुपले गरेको रेटिङअनुसार तीन होटल निर्माणका लागि ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । तथ्याङ्कमा ग्रुपले तीन होटलमा ३ अर्ब ९८ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको हो । ग्रुपले पोखराको होटल सांग्रिलामा १ अर्ब १९ करोड २० लाख रुपैयाँ, पोखराको बेगनासमा लस्ट होराइजन प्रालिमार्फत्१ अर्ब ४९ करोड ५० लाख रुपैयाँ र चितवनको मेघौलीमा लस्ट होराइजन सफारि रिसोर्टमार्फत् रिसोर्ट निर्माण गर्न १ अर्ब २९ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

होटल सांग्रिला भिलेज: सांग्रिला हस्पिटालिटी ग्रुपले पर्यटकीय नगरी पोखराको घारीपाटनमा रहेको होटल सांग्रिला भिलेजलाई पाँच तारे बनाउने गरी स्तरोन्नती गरेको छ । होटल क्षेत्रमा ग्रुप आक्रामक बनेको छ । सन् १९७९ देखि काठमाडौंमा पाँच तारे होटल सञ्चालन गर्दै आएको ग्रुपले देशका विभिन्न स्थानमा तारे होटल निर्माण गरिरहेको छ ।

ग्रुपले पोखरामा सञ्चालनमा रहेको होटललाई क्षमता विस्तार गरी पाँच तारे होटल बनाउने तयारी गरेको छ  भने अन्य दुई स्थानमा भने रिसोर्ट निर्माण गरिरहेका छन् ।

कम्पनीले सन् २०२३ को जुलाईबाट पुन: निर्माण कार्य अगाडि बढाएको छ । सन् १९९६ बाट ६१ वटा कोठाको सुविधासहित चार तारे होटल सञ्चालन गर्दै आएको होटल सांग्रिला भिलेजमा १ अर्ब १९ करोड २० लाख रुपैयाँ लगानी थप गरी पाँच तारे बनाउने भएको हो । उक्त होटलमा ८० प्रतिशत रुपैयाँ कर्जा लिई लगानी गर्ने भएको छ । कम्पनीले होटल निर्माण सम्पन्न भइसकेपछि होटल इन्डिगो ब्राण्डमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । होटलमा क्यासिनोको सुविधासहित सञ्चालनमा ल्याउने योजना बनाएको कम्पनीले जनाएको छ ।

हाल होटलको प्रति कोठा निर्माण गर्न १ करोड २० लाख रुपैयाँ खर्च हुने भएको छ । होटलमा प्रविनबहादुर पाण्डेको ४८ प्रतिशत, प्रशिद्धबहादुर पाण्डेको ३० प्रतिशत, एम/एस मयुर इन्टरनेशनल प्रालि १८ प्रतिशत, दरपना पाण्डेको २ प्रतिशत, सुमिता पाण्डेको २ प्रतिशत र मेरी पाण्डेको १ प्रतिशत स्वामित्व छ ।

चार तारे होटलले सन् २०२० मा ड करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै सन्  २०१९ मा १३ करोड रुपैयाँ, सन् २०१८ मा १२ करोड २० लाख रुपैयाँ र सन् २०१७ मा ८ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२४ को जनवरीसम्ममा होटलको ९ प्रतिशत आर्थिक प्रगति भएको उल्लेख छ । उक्त होटल आगामी सन् २०२५ को मार्चसम्ममा सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

लस्ट होराइजन प्रालि: सांग्रिला हस्पिटालिटी ग्रुपले लस्ट होराइजन कम्पनीमार्फत् पोखराको बेगनासमै अर्को लक्जरी होटल निर्माण कार्यलाई तीब्र अगाडि बढाएको छ । ग्रुपले पोखराको बेगनासमा  १ अर्ब ४९ करोड ५० लाख रुपैयाँ लगानीमा इन्टरकन्टिनेन्टल रिसोर्ट पोखरा बेगनास ब्राण्डमा लक्जरी होटल सञ्चालनमा ल्याउने भएको हो ।

लस्ट होराइजन कम्पनीले रिसोर्टमा ८० वटा कोठाको सुविधा दिनेछ। जसमा पहिलो चरणमा ४० वटा सुइट रुमको सुविधामा निर्माण गर्नेछ । कम्पनीले पहिलो चरणको रिसोर्ट निर्माण गरी सन् २०२४ को डिसेम्बरसम्ममा सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यस्तै दोस्रो चरणमा थप ४० वटा लक्जरी रुम निर्माण गर्ने जनाएको छ । उक्त सुविधाको रिसोर्ट आगामी सन् २०२६ को डिसेम्बरबाट सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

उक्त रिसोर्टको हालसम्ममा ५६ प्रतिशत आर्थिक प्रगति भएको छ । कम्पनीले रिसोर्टमा प्रतिकोठा ३ करोड ९० लाख रुपैयाँ खर्च लाग्ने जनाएको छ ।

कम्पनीमा प्रसिद्धबहादुर पाण्डे र प्रविनबहादुर पाण्डेको संयुक्त लगानी छ ।

लस्ट होराइजन सफारी रिसोर्ट: ग्रुपले पोखरासँगै चितवनको मेघौलीमा पनि रिसोर्ट निर्माण गरिरहेको छ । आक्रामक तरिकाले लगानी बढाएको ग्रुपले लस्ट होराइजन सफारि रिसोर्टमार्फत् ‘इन्टरनेकन्टिनेन्टल रिसोर्ट चितवन मेघौली’ ब्राण्डको रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो ।  

रिसोर्टमा पोखरमा जस्तै पहिलो चरण र दोस्रो चरण गरी दुई चरणमा निर्माण गरी सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले रिसोर्ट निर्माण गर्न १ अर्ब २९ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । रिसोर्टमा ७२ प्रतिशत ऋण लिई लगानी गर्नेछ । हालसम्ममा रिसोर्टको ५५ प्रतिशत आर्थिक प्रगति भइसकेको छ ।

कम्पनीले पहिलो चरणमा ४० वटाको सुइट रुमको सुविधाको रिसोर्ट निर्माण गर्नेछ । व्यवस्थापन समूहले पहिलो चरणमा निर्माण गरेको रिसोर्ट सन् २०२५ को अप्रिलसम्ममा सञ्चालनमा ल्याउने तयारी गरेको छ । रिसोर्टको प्रतिकोठा निर्माणको लागत ३ करोड २० लाख रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

त्यसपछि कम्पनीले थप लगानी गरी दोस्रो चरणमा ४० वटा लक्जरी कोठाको सुविधासहित ८० वटा कोठाको रिसोर्ट निर्माण गर्नेछ । उक्त रिसोर्ट आगामी सन् २०२६ को डिसेम्बरबाट सञ्चालनमा ल्याउने योजना बनाएको छ । रिसोर्टमा प्रसिद्धबहादुर पाण्डेको छ ।

सांग्रिला हस्पिटालिटी ग्रुपले देशका विभिन्न स्थानमा निर्माण गरिरहेको होटलको बजारीकरण र व्यवस्थापन भने इन्टरनेशनल होटल ग्रुपले गर्नेछ । युरोपमा होटल क्षेत्रको अगुवा कम्पनीको रुपमा स्थापित ग्रुप एम/एस इन्टरनेशनल होटल ग्रुप (आइएचजी)सँग सन् २०२२ मा सांग्रिलाले बजारीकरण र व्यवस्थापन गर्न सम्झौता गरेको छ । इन्टरनेशनल होटल ग्रुपले विश्वभर आइएचजी ब्राण्डमा होटल सञ्चालन गर्दै आएको छ ।

त्यसैगरी सांग्रिलाले सन् १९७९ देखि काठमाडौं र पोखरामा पाँच तारे र चार तारे होटल सञ्चालन गर्दै आएको छ । अहिले उक्त होटलहरु पुन:निर्माणको चरणमा छ ।

रामिणी होटल: बर्दिबासमा १ अर्ब १० करोड रुपैयाँ लगानीमा  रामिणी होटल बन्ने भएको छ । बर्दिबास नगरपालिका वडा नं १ मा पाँच तारे होटल रामिणी बन्ने भएको हो ।

कम्पनीले दुईदेखि साढे दुई वर्षमा होटल निर्माण काम सक्ने गरी कार्य अगाडि बढाएको छ । कम्पनीले होटल निर्माणपछि व्यवस्थापन र सञ्चालनका लागि भारतको इन्टरनेशनल चेन होटल ल्याउने तयारी भइरहेको छ ।

रामिणी होटल कुल एक बिघा क्षेत्रफलमा निर्माण हुनेछ । होटल ७/७ तल्लाको दुई वटा भवन बन्नेछन् । होटलमा ८२ वटा कोठाको सुविधा हुनेछ । होटलमा क्यासिनो, स्वीमिङ पुल, वेलनेसलगायतका सुविधा उपलब्ध हुनेछन् ।


अरिष्मा मोक्तान