विदेशी मुद्रा भित्र्याउने भरपर्दो माध्यम बन्दै सिमेन्ट उद्योग, ८ महिनामा ३० करोडको निर्यात



काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा साढे ३० करोडको सिमेन्ट निर्यात भएको छ । साउनदेखि फागुनसम्ममा १९ करोड ४१ लाखको क्लिंकर र ११ करोड १४ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको हो ।

फागुनमा मात्रै थप १३ करोड ८५ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको छ । चालू आवको माघसम्ममा १६ करोड ७० लाख रुपैयाँको सिमेन्ट निर्यात भएको थियो ।

आरएमसी ग्रुपको कम्पनी पाल्पा सिमेन्ट उद्योगले उत्पादन गरेको तानसेन ब्रान्डको सिमेन्ट गत वर्षको असारदेखि भारत निर्यात हुन थालेको थियो । तानसेन सिमेन्ट उत्पादन सुरु भएको तीन वर्षमै निर्यात थालेको हो । तानसेन सिमेन्ट निर्यात हुन थालेपछि सिमेन्ट उद्योगमा बेग्लै माहोल सिर्जना भएको हो ।

यसअघि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको कम्पनी अर्घाखाँची सिमेन्ट उद्योगको अर्घाखाँची ब्रान्ड र आरएमसी ब्रान्डकै सिमेन्ट भारत निर्यात हुँदै आएको थियो । तर, भारतबाटै क्लिंकर आयात गरेर उत्पादन गरेको सिमेन्ट निकासीबाट लाभ लिन नसकेपछि निर्यात प्राथमिकतामा पर्न सकेको थिएन ।

केही उद्योगले निर्यात गरे पनि निर्यातको हिस्सा निकै सानो थियो । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत निर्यातमा प्रोत्साहन दिने नीति लिएपछि सिमेन्ट निर्यातको वातावरण बनेको हो । नेपालमै क्लिंकर उत्पादन हुन थालेपछि लागत पनि कम पर्न थालेको थियो । त्यसपछि असारमै तानसेनले निर्यात थाल्यो । गत वर्ष नै निर्यात परिणाम केही बढेको थियो ।

अघिल्लो वर्ष ८३ हजार रुपैयाँको सिमेन्ट निर्यात भएकोमा गत वर्ष १२ लाख ९३ हजार रुपैयाँको निर्यात भएको थियो । आरएमसी ग्रुपका कार्यकारी निर्देशक एवं पाल्पा सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवाल सिमेन्टमा धेरै गर्न सकिने बताउँछन् । नेपालबाट वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको सिमेन्ट निर्यात हुनसक्ने उनको आकलन छ ।

अहिले देशभर ६५ वटा सिमेन्ट उद्योग छन् । सरकारीले पुँजीगत बजेट खर्च गर्न नसक्दा र बैंकहरुले कर्जा प्रवाह गर्न नसक्दा आन्तरिक खपत निकै नै न्यून छ । कतिपय उद्योग सिमेन्टको माग कम भएर उत्पादन कटौती गर्नुपर्ने अवस्थामा छन् ।

सरकारले कात्तिकमा निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ मार्फत सिमेन्टमा ८ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ । त्यस्तै चालू आर्थिक वर्षको बजेटमार्फत वार्षिक १० करोडभन्दा बढीको विद्युत खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।

निर्यात गर्न सम्बन्धित देशबाट गुणस्तर चिह्न लिनुपर्ने हुन्छ । अहिलेसम्म तानसेन र अर्घाखाँची ब्रान्डले भारतबाट गुणस्तर चिह्न लिएका छन् भने केही उद्योग लिने प्रक्रियामा छन् ।


क्लिकमान्डु