सीएनआईको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको गभर्निङ काउन्सिल मिटिङबाट हालका उपाध्यक्ष अग्रवाल वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । काउन्सिलको संयोजक विनोद चौधरी छन् ।
परिसंघको वैशाखमा हुने साधारण सभाले अग्रवाल अध्यक्षमा निर्वाचित हुनेछन् । परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान छ । हाल सीएनआईको अध्यक्ष विष्णुकुमार अग्रवाल छन् । सीएनआईमा ७ जना उपाध्यक्ष हुने व्यवस्था छ ।
सीएनआई रोजगार परिषदका संयोजक राजेश अग्रवाल आरएमसी ग्रुपअन्तर्गतको पाल्पा सिमेन्ट उद्योगका सञ्चालक हुन् । पाल्पा सिमेन्ट उद्योगको उत्पादन तानसेन सिमेन्ट गत वर्षको असारदेखि भारत निर्यात भइरहेको छ, जसका कारण सिमेन्ट उद्योग क्षेत्रमा नयाँ माहोल सिर्जना भएको छ ।
आरएमसी ग्रुपले राजेश मेटल क्राफ्टबाट उत्पादित एमएस ब्ल्याक पाइप पनि भारत निर्यात गर्दै आएको छ । आरएमसी ग्रुप चार दशकअघि राजेशका बाबु श्रवणकुमार अग्रवालले स्थापना गरेका हुन् ।
सन् १९८६ देखि जापानबाट फलाम आयात गरेर व्यापारमा प्रवेश गरेका अग्रवाल सन् १९९३ देखि भने आफ्नै उद्योग स्थापना गरेर निर्माण सामग्री उत्पादनमा लागेका थिए ।
चार दशकको अवधिमा आरएमसी ग्रुपबाट स्टिल, पाइप, जस्तापाता, सिमेन्टलगायत हुँदै आएको छ । श्रवणकुमार संस्थापक अध्यक्ष रहेको आरएमसी ग्रुपका कार्यकारी निर्देशक पनि हुन्, राजेश ।