उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्षबीच भेटवार्ता



काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड’ (सिसिपिआइटी) का उपाध्यक्ष झाङ शाओगाङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको उपप्रधानमन्त्रीको भनाइ छ ।

त्यस क्रममा उपाध्यक्ष झाङलाई नेपालमा स्वागत गर्दै र भ्रमण सफलताको शुभकामना दिँदै उपप्रधानमन्त्री श्रेष्ठले चीन नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय व्यापार साझेदार मुलुक रहेको र नेपालमा लगानीमैत्री वातावरण भएकाले चिनियाँ लगानीको सधैं स्वागत गरिने बताए ।

केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर आयात तथा निर्यातलाई समेत सहज गर्नुपर्ने आवश्यकता उपप्रधानमन्त्री श्रेष्ठले औँल्याए । चीन नेपालको दोस्रो व्यापारिक साझेदार मुलुक रहेको र चीन–नेपालको व्यापार घाटा धेरै भएकाले त्यसलाई घटाउन आपसी समझदारीका आधारमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

उनले नेपालको एक चीन नीतिप्रतिको दृढता श्रेष्ठले दोहोर्‍याए । तेस्रो कार्यकालका लागि निर्वाचित चिनियाँ राष्ट्रपति सी जिनपिङ र नवनिर्वाचित प्रधानमन्त्री ली छ्याङलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामनासमेत व्यक्त गरे ।

त्यस क्रममा उपाध्यक्ष झाङले झन्डै चार वर्ष लामो कोभिड सङ्क्रमणले चीनको वैदेशिक लगानी तथा व्यापारमा असर परे पनि चीन अब कोभिडबाट खुला भएकाले सहज भएको बताए ।

कोभिडका कारण चीन र नेपालको बीच भ्रमण आदानप्रदान हुन नपाएको र त्यसबाट व्यापारमा समेत असर परेको बताए । नेपाल आफूहहरूको पुरानो र नजिकको मित्र भएको र नेपालमा थप लगानीको निश्चितता गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको उनले बताए ।

झाङले नेपालले ठूलो प्राविधियुक्त उद्योग–निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने बताए । भेटवार्तामा चिनियाँ राजदूत छन सोङसहितको उपस्थिति थियो ।


क्लिकमान्डु