परिणाम दिने गरि सरकार लागेन भने पाँच वर्ष खेर जान्छः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा अहिलेको सरकारले पाँच वर्षमा परिणाम दिने सोचसहित काम गर्नुपर्ने बताएका छन् ।

आइतबार आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले अहिलेको गठबन्धनको सरकारले परिणाम दिने आधार बनाएर काम गर्नुपर्ने बताएका हुन् ।

‘यो सरकारले परिणाम दिन सकेन भने समय खेर जान्छ । पाँच वर्षभित्रमा के परिणाम दियौं र दिएनौं, त्यो महत्वपूर्ण कुरा हो । त्यो परिणाम दिने कुरामा यो गठबन्धनको सरकार लाग्नुपर्छ । लागेन भने त्यो पाँच वर्ष खेर जान्छ ’ थापाले भने ।

केही दिनमा नै सरकारले पूर्णता पाउने र नयाँ आउनेहरुले सरकार चलाउनेमा आफू आशावादी भएको बताए । उनले भने, ‘केही दिनमा सरकारले पूर्णता पाउँछ । नयाँ साथीहरुले नयाँ सोचले सरकार चलाउनुहुन्छ । यो तरिकाले साथीहरु आउनुहुन्छ र सरकार चलाउनु हुन्छ भन्ने लाग्छ ।’ थापाले पाँच वर्षका लागि आएको सरकारले ‘आउट अफ द बक्स’ पनि सोच्नु पर्ने बताए । उनले नेपालमा उत्पादनको कुरादेखि नलेज इकोनोमीको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताए । नयाँ सेक्टरहरुमा सरकारले ध्यान दिनुपर्नेमा थापाको विशेष जोड थियो ।

उनले ‘आउट अफ द बक्स सोच्नु पर्छ,’ थापाले भने, ‘नेपालले उत्पादन गर्ने कुरालाई सामान्यीकरण गर्नु हुँदैन । हामीले के गर्न सक्छौं र के सक्दैनौं भन्ने कुरा आउनुपर्छ । के गर्ने र किन गर्ने भन्ने हुनुपर्छ । नयाँ सेक्टरहरु हेर्नु पर्छ । त्यो भनेको नलेज इकोनोमी हो ।’

उनले सरकारले लक्ष्यलाई आर्थिक सुशासन समुन्नतीको आँखाले हेर्नुपर्ने बताए । आर्थिक समृद्धिको आँखाले मात्रै नभएर आर्थिक सुशासन समुन्नतीको दृष्टिकोण लिएर सरकार अघि बढ्नुपर्ने थापाको जिकिर थियो ।

थापाले आफू मन्त्री बन्ने तरखरमा रहेको भन्ने विषमाय उठिरहेको प्रश्नमा पनि जवाफ दिँदै आफ्नो त्यस्तो तयारी नरहेको बताए ।
‘कतिपय साथीहरुले मलाई तपाईं मन्त्री भएर जानुहुन्छ भनेर सोध्नुहुन्छ,’ उनले भने, ‘म त मन्त्री होइन, महामन्त्री हो । म त सत्तामा भइरहेको पार्टीको महामन्त्री नै छु नि । मेरो त जिम्मेवारी हो नि यो । मेरो दायित्व हो नि यो ।’

उनले आफूले पाँच वर्षका लागि सांसदको जिम्मेवारी पाएको बताएका छन् । देशको आर्थिक सुशासन, समृद्धि र समुन्नतीजस्ता विषयमा बोल्दा धेरैले उनलाई मन्त्री भएर जाने भन्दै प्रश्न उठिरहेको बताउँदै थापाले आफू त्यो तरखरमा नरहेको बताएका छन् ।
‘अनि, तपाईंले चलाउन सक्दिनँ भन्ने लाग्छ भन्नुहुन्छ,’ उनले भने, ‘म त मन्त्री होइन्, प्रधानमन्त्री चलाउन सक्छु भन्ने विश्वास गरको मान्छे हो । बन्छु भनेर लागेको हो । अहिले भनेका सबै कुरा कुन कुन ठाउँमा गर्न सकिन्छ भनेर काम गरेको हो, तयारी गरेको हो ।’

त्यो बेला आफू नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न नसकेको उनले बताए । आगमी पाँच वर्षका लागि आफे जिम्मेवारी सांसदको भएको बताउँदै थापाले सांसद नै भएर काम गर्ने, प्रधानमन्त्रीलाई दबाब दिने र नेतृत्वकर्तालाई झक्झक्याउने बताएका छन् ।

‘न म मन्त्री बन्ने हो, न म बन्न मिल्छ, न बन्दै छु न बन्छु अहिले,’ उनले भने, ‘नेपाली कांग्रेस पार्टी सरकारमा रहँदा सरकारलाई सफल बनाउने हो । सफलता कति समय टिक्यो भन्दा पनि परिणामको आधारमा भन्ने हो ।’


क्लिकमान्डु