४० प्रतिशतले घट्यो विदेशी लगानी, प्रतिबद्धता बराबर नै बाहिरियो रकम



काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा वैदेशिक लगानी ४० प्रतिशतले घटेको छ । उद्योग विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक लगानी ४० प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालमा विभिन्न देशबाट १८ अर्ब ६३ करोड १० लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन्।

जबकी गत वर्षको सोही अवधिमा नेपालमा ३१ अर्ब १० करोड २७ लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाइएको थियो । त्यसैगरी, नेपालमा हालसम्ममा ५ हजार ६७७ वटा उद्योगबाट ४ खर्ब ३७ अर्ब ९० करोड ५ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनो छ ।

उद्योग विभागको तथ्याङ्क हेर्दा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सुरुदेखि नै कम लगानी प्रतिबद्धता आएको देखिन्छ । गत साउनमा नेपालमा विभिन्न देशबाट ५ अर्ब ५३ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको थियो । तर, यो वर्षको साउन महिनामा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ मात्रै लगानी प्रतिबद्धता जनाएको देखिन्छ ।

त्यस्तै, यो वर्षको भदौ महिनामा ३ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ, असोजमा १ अर्ब ८५ करोड ४७ लाख रुपैयाँ, कात्तिकमा ३ अर्ब ६५ करोड रुपैयाँ, मंसिरमा ८० करोड ८० लाख रुपैयाँ, पुसमा ४ अर्ब ८५ करोड २० लाख र माघ महिनामा १ अर्ब ३९ करोड ६ लाख रुपैयाँ विदेशी लगानीकर्ताले प्रतिबद्धता जनाएका छन् ।

उद्योग विभागलले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट(एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) सहित नयाँ उद्योग गरी माघ महिनामा २५ वटा उद्योगमार्फत् ३ अर्ब ९७ करोड २३ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

जसमा विभागमा स्वीकृत भएको नयाँ उद्योगले १ अर्ब ३९ करोड ६ लाख ५५ हजार रुपैयाँ र एसपीए र एसएसएमार्फत् २ अर्ब ५८ करोड १६ लाख ९८ हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

विभागमा नयाँ लगानी प्रतिबद्धता जनाएका १५ वटा उद्योग दर्ता भएका छन् भने बाँकी १० वटा उद्योगले थप लगानी गर्ने गरी एसएसए, एपीए र टीटीएमार्फत् प्रतिबद्धता जानएका छन् ।

साथै, चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा एसपीए, एसएसए र टीटीएसहित नयाँ २१६ वटा उद्योगमार्फत् नेपालमा २७ अर्ब ७६ करोड १२ लाख ९३ हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ ।

प्रतिबद्धता जनाएअनुसार नयाँ उद्योगले १८ अर्ब ६३ करोड १० लाख रुपैयाँ र एसपीए/एसएसएमार्फत् ९ अर्ब १३ करोड २ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा प्रतिबद्धता जनाएको लगानीबाट ८ हजार ६०५ जनाले रोजगारी पाउनेछन् । विभागमा लगानी प्रतिबद्धता जनाएका उद्योगमध्ये अधिकांश सानामा प्रकारका उद्योग दर्ता गरेका छन् । माघ महिनामा १५ वटा नयाँ उद्योग दर्ता हुँदा १३ वटा साना र २ वटा मझौला उद्योग दर्ता गरेका छन् ।

सेवा र पर्यटन क्षेत्रमा वैदेशिक लगानीको बढी आकर्षण

नेपालमा विश्वका विभिन्न देशबाट लगानी प्रतिबद्धता जनाउँदा सेवा र पर्यटन क्षेत्रमा बढी आकर्षण देखिएको छ । हालसम्ममा ५ हजार ६७७ वटा उद्योग दर्ता हुँदा १८ सय ७ वटा सेवामुलक क्षेत्र र १ सय ७० वटा पर्यटनमुलक क्षेत्रमा लगानी प्रतिबद्धता जनाएका छन् । यी दुई क्षेत्रले नेपालमा प्रतिबद्धता जनाएको लगानीको ३३ प्रतिशत हिस्सा रहेको छ ।

त्यसपछि उत्पादनमुलक क्षेत्रमा हालसम्ममा १२ सय ७७ वटा उद्योगमा लगानी प्रतिबद्धता जनाएका छन् । त्यस्तै, कृषि क्षेत्रमा २९५ वटा, सूचना प्रविधिमा १२७ वटा, उर्जामा ९१ वटा, खनिजमा ७२ वटा र पूर्वाधारमा ५८ क्षेत्रमा ५८ वटा उद्योगले लगानी प्रतिबद्धता जनाएका छन् ।

माघमा मात्रै ३ अर्ब लगानी फिर्ता

चालु आवको लगानी प्रतिबद्धासँगै करिब ३ अर्ब बढी रकम लगानी फिर्ताको प्रस्ताव स्वीकृत भएको छ । उक्त रकम लगानी प्रतिबद्धता जनाएभन्दा केही रकमले मात्रै कमी रहेको देखिन्छ ।

चालु आवको माघ महिनामा ३ अर्ब ९७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाउँदा नेपालबाट रोयल्टी र लाभांस गरी ३ अर्ब १५ करोड ८५ लाख रुपैयाँ लगानी फिर्ताका लागि स्वीकृत गरेको जनाएको छ । जुन प्रतिबद्धता जनाएको रकमभन्दा ७० करोड मात्रै कम हो ।

माघ महिनामा रोयल्टीवापत ८० करोड ८७ लाख ५० हजार रुपैयाँ नेपाली रुपैयाँ, १६ करोड ३९ लाख ८६ हजार भारतीय रुपैयाँ र ९ हजार २ सय ९३ अमेरिकी डलर फिर्ता लैजानेगरी स्वीकृति दिएको छ । साथै, २ अर्ब १७ करोड २८ लाख ६० हजार रुपैयाँ लाभांस शीर्षकवापत विदेश लैजाने रकम स्वीकृति दिएको छ ।

यस्तै, चालु आवको हालसम्म विभागले १३ अर्ब १७ करोड १७ लाख ७० हजार रुपैयाँ बराबर लाभांशवापत विदेश लैजाने विदेशी लगानीकर्ताहरुलाई स्वीकृति दिएको छ ।

यसै अवधिमा विदेशी लगानीकर्ताहरुले रोयल्टीवापत १ अर्ब ७३ करोड ६३ लाख नेपाली रुपैयाँ, ३० करोड २७ लाख ४० हजार भारतीय रुपैयाँ, ८ लाख ९८ हजार ७ सय ३६ अमेरिकी डलर र ७ हजार युरो बराबर लैजानसमेत स्वीकृति पाएका छन् ।


क्लिकमान्डु