प्रचण्ड सरकार बनेपछिको एक महिनामा २४ अर्बको लगानी प्रतिबद्धता



काठमाडौं । नयाँ सरकार गठनपछि शेयर बजारलगायत घरजग्गा कारोबारमा उत्साह छाएको छ । त्यस्तै, नयाँ सरकार गठनपछि उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता पनि बढेको छ ।

चुनावपछि गत पुस १० गते पुष्प कमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । सरकार गठन भएको मंगलबार एक महिना पुगेको छ । सो अवधिमा निराशाजनक बनेको बजारमा विस्तारै तंग्रिँदै गएको छ । शेयर बजार र घरजग्गा कारोबारसँगै विभिन्न उद्योग क्षेत्रमा पनि तीन महिनापछि हालसम्मकै उच्च लगानी प्रतिबद्धता जनाएका छन् ।

बजारमा अहिले तरलताको चरम अभाव छ । तर, तरलताको चरम अभावकाबीच पुस महिनाको १० गतेदेखि माघ १० गतेसम्ममा २३ अर्ब ७० करोड २५ हजार रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् । जुन भदौपछि हालसम्मकै उच्च हो । पुस महिनामा २० वटा उद्योगले २३ अर्बको लगानी प्रतिबद्धता जनाएका हुन् ।

गत भदौमा चालु आर्थिक वर्षको हालसम्मकै उच्च लगानी प्रतिबद्धता जनाएका थिए । भदौमा ३९ वटा उद्योग दर्ता हुँदा ३१ अर्ब ८५ करोड २६ लाख ७९ हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए ।

भदौ महिनामा १९ अर्ब २४ करोड ३ लाख ७५ हजार रुपैयाँ कुल पुँजीसहित १० वटा ठूला उद्योग, ११ अर्ब ६८ करोड १४ लाख रुपैयाँको २० वटा मध्यम र ९ अर्ब ३० करोड ९० लाख रुपैयाँको ९ वटा साना उद्योग दर्ता भएका थिए ।

त्यस्तै, पुस महिनामा ठूला ८ वटा उद्योगले लगानी प्रतिबद्धता जनाएका छन् । विगतको दिनमा ठूलाभन्दा साना र मध्यम प्रकारका उद्योगले लगानी प्रतिबद्धता जनाएका थिए । तर, पुस महिनामा ठूला ८ वटा उद्योगले मात्रै २१ अर्ब ६० करोड ४६ लाख ७० हजार रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् । पुसमा मध्यमको ४ वटा र साना ७ वटा उद्योग दर्ता गरेका छन् ।

मंसिर महिनामा १९ वटा उद्योग दर्ता हुँदा ६ अर्ब ४४ करोड ५३ लाख १२ हजार रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् । मंसिर महिनामा अधिकांश साना उद्योग दर्ता हुँदा लगानी प्रतिबद्धता कम आएको देखिन्छ ।

उद्योग विभागअनुसार कात्तिक महिनामा २० अर्ब ५२ करोड ८ लाख ४१ हजार रुपैयाँ लगानी प्रतिबद्धतासहित १३ वटा उद्योग दर्ता भएका थिए । साथै, असोज महिनामा १३ उद्योगले ५ अर्ब ६६ करोड ३४ लाख ९१ हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।


क्लिकमान्डु