स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत १७ नवउद्यमी छनोट



विराटनगर । उद्योग संगठन मोरङले यस वर्ष १७ नविन व्यावसायिक आइडियाहरुलाई स्टार्टअप उद्यमीका रुपमा छनौट गरेको छ ।
नविन सोच विचार तथा अवधारणा भएका युवाहरुलाई उद्यमशिलतामा रुपान्तरणका लागि सहजीकरण गरी नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले गत वर्षदेखि स्टार्टअप कार्यक्रम सञ्चालन गरेको थियो । त्यही स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत दोस्रो ब्याचका लागि १७ युवा उद्यमी छानिएका हुन् ।

यस वर्ष छानिएका नवउद्यमीहरुमा छ जना महिला र ११ जना पुरुष छन् । छनौट भएका स्टार्टअपलाई गत आश्विन २७ देखि ३० गतेसम्म ४ दिनको बुट क्याम्पमा राखेर बिजनेश हेल्थ चेकअप गरेको हो ।

त्यस क्रममा मेन्टर तथा बिजनेश कोचहरुसँग म्याच मेकिङ गरी ४ दिने बुट क्याम्प सम्पन्न भएको छ । नवउद्यमीहरूलाई सघाउन कार्यक्रमअन्तर्गत १८ जना मेन्टर, ५ जना बिजनेश कोच र ६ जना स्टार्टअपफेलो समेत चयन गरिएको छ ।

कार्यक्रमअन्तर्गत छनौट भएका स्र्टाटअपहरुको व्यावसायिक योजना तयारी, सो अनुरुप आवश्यक पर्ने प्राविधिक विषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना जसअन्तर्गत बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेक अप, उपभोक्तासँग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न विषयगत कार्यक्रमहरुका माध्यमबाट १२ महिना व्यावासायिक सेवा उपलब्ध गराउदै आवश्यक पर्ने लगानीमा समेत सहजीकरण गरिने संगठनका स्टार्टअप कार्यक्रमका समितिका संयोजक सुरेन्द्र गोल्छाले बताए ।

कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार उद्योग श्रम तथा रोजगार मन्त्रालय, विराटनगर महानगरपालिका, स्विस कन्ट्याक्ट, आसामान नेपाल, पूर्वाञ्चल विश्व विद्यालय, अन्तरप्रेरणा प्रालि, नबिल बैंक लिमिटेड, नेपाल युवा उद्यमी मञ्चलगायतका संस्थाहरुसँगको सहकार्य गरिएको छ ।

स्टार्टअप व्यवसायको प्रवर्धन र विकासका लागि सरकार, अनुसन्धानमूलक संस्थाहरु एवं निजी क्षेत्रबीच समन्वय गरी प्रदेश नं १ को नमुनाको रुपमा व्यवसाय विकासका व्यवस्थापकीय एवं प्राविधिक सेवाहरुको दिगो इकोशिष्टमको जग बसाल्ने लक्ष्यका साथ संगठनले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत गएको वर्षदेखि संगठनले प्राथमिकताका साथ यो कार्यक्रम अघि बढाएको छ ।


क्लिकमान्डु