रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्चको १२ औं नम्बरमा

413
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो ।

यसअघि लगातार चारपटकसम्म ‘हेर्न नभ्याइने’ सूचीमा परेको यो मुद्दा आज सर्वोच्चको दैनिक कजलिष्टको १२ औं नम्बरमा रहेको छ ।

लामिछानेले अमेरिकी र नेपाली दुवै राहदानी साथमा राखी प्रयोग गरेर कानुन उल्लंघन गरेको दाबी गर्दै युवराज पौडेले दुई वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए ।

यस विवादमा तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ६ चैत २०७९ मा लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेका थिए ।

उक्त निर्णय कानुनविपरीत रहेको भन्दै रिटमा महान्यायाधिवक्ताको निर्णय खारेज गरी मुद्दा चलाउन माग गरिएको छ । यसअघि २२ चैत २०७९ मा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै मुद्दा नचलाउने निर्णयको सक्कल फाइल मगाएको थियो । सोही निर्णयको फाइल प्राप्त भएपछि आज पुनः सुनुवाइ हुन लागेको हो ।