गुण ग्रुपले साढे ६ अर्ब लगानीमा पाँचतारे होटल निर्माण गर्दै, १ वर्षपछि सञ्चालनमा आउने



काठमाडौं । गुण ग्रपको लगानीमा ललितपुरको ग्वार्कोमा साढे ६ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल द म्यासिफ निर्माण भइरहेको छ ।

ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यको लगानीमा ६ अर्ब ५१ करोड १० लाख रुपैयाँ लगानीमा निर्माण भइरहेको होटल एक वर्षपछि अर्थात् सन् २०२३ को मध्यदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीको भनाइ छ ।

सन् २०१८ अगस्टदेखि शुरु भएको होटल निर्माणको काम कोरोना महामारी लगायतका कारणले सम्पन्नमा ढिलाइ भएको थियो ।

होटलमा ७५ प्रतिशत बैंकिङ कर्जा र २५ प्रतिशत इक्विटी लगाानी हुनेछ । कम्पनीका अनुसार गत जुलाई मध्यसम्म होटल निर्माणमा ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने कुल बजेटको ४३ प्रतिशत रकम खर्च भइसकेको कम्पनीले जानकारी दिएको छ ।

कुल ३०२ वटा रुम रहने होटलमा प्रतिरुम लागत २ करोड १० लाख ५६ हजार रुपैयाँ रहने अनुमान गरिएको छ । हालै कम्पनीले १ अर्ब ९५ करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ ।

गुण ज्वेलर्स, गुण सिनेमा हल, गुण हाउजिङ, अपार्टमेन्ट, गुण कोलोनी, गुण रियलस्टेट, गुण एयरलाइन्स, गुण को–अपरेटिभलगायतका संस्थाका अध्यक्ष समेत रहेका अध्यक्ष शाक्य घरजग्गा कारोबारमा मन्दी छाएसँगै टाटपल्टिएका थिए ।

करिब करिब शुन्यमै झरेका शाक्यले यतिबेला भने गुण एयरलाइन्सलाई पुनर्जीवन मात्रै दिएनन् हाल उनी विभिन्न व्यवसाय बिस्तारमा समेत लागेका छन् । पछिल्लो समय उनले दरबारमार्गमा दरबार मल निर्माण गरेका छन् भने उक्त हलमा क्यूएफएक्सको व्यवसथापनमा दरबार सिनेमा समेत सञ्चालनमा ल्याइसकेका छन् ।


क्लिकमान्डु