हाइलाइफमा ५० करोड लगानीसहित भित्रियो हाथवे र बिग इण्डस्ट्रिज



काठमाडौं । सेयर बजारको चर्चित लगानीकर्ता कम्पनी हाथवे इन्भेष्टमेन्ट र बिग इण्डस्ट्रिज लिमिटेडले हाइलाइफ फुडमा लगानी गर्ने भएका छन् । तीन कम्पनीबीच सोमबार ४ बजे सम्झौता हुँदैछ ।

पछिल्लो समय बुटवलबाट उदाएर एफएमसीजी ब्राण्डमा हाइफाइफ आक्रमक रुपमा अघि बढेको कम्पनी हो ।

स्रोतका अनुसार हाथवे र बिग इण्डस्ट्रिजले हाइलाइफ फुडको ५० प्रतिशत सेयर स्वामित्व लिनेछन् । कम्पनीले व्यापार थप बिस्तार गर्ने उद्देश्यले नयाँ लगानीकर्ता भित्राएको हो । हाथवे कम्पनीमा आइएमई समूह, एसआर हाइड्रोपावर अम्बिका पौडेलको लगानी छ भने बिग इण्डस्ट्रिजमा अम्बिका पौडेल, विवेक झा र नवराज बुर्लाकोटीको लगानी छ ।

७० करोड रुपैयाँ लगानीमा लगानीमा शुरु भएको हाइलाइफमा हाल करिब ७ सय जनशक्ति आबद्ध छन् ।

तीन वर्षअघि काठमाडौंमा केन्द्रित भइ देशभर व्यापार बिस्तार गरिरहेको हाइलाइफले हाल चिउरा, कर्नफ्लेक्स, ओट्ससँगै चिया सिड्स, ग्रीन टि, सोयाबिनलगायतका १८ वटा प्रडक्ट उत्पादन गरिरहेको छ भने देशभर करिब १५० डिलरले काम गरिरहेका छन् ।

कम्पनीले चिउरालगायतका प्रडक्ट विभिन्न देशमा निर्यात समेत गर्दै आएको छ । कम्पनीका प्रडक्टहरु ७० जिल्लाका १ लाखभन्दा बढी रिलेट स्टोरमार्फत् बिक्री हुँदै आएका छन् ।

हाल कम्पनीमा तुलसी घिमिरेको परिवार र पंकज ज्ञवालीको लगानी छ । ज्ञवाली र घिमिरे परिवार २० वर्षअघिदेखि विभिन्न ब्राण्डमा कर्नफ्लेक्स उत्पादन गरिरहेका छन् ।


क्लिकमान्डु