अमेरिकी प्रिमियम बजारमा नेपाली मह, सूर्य नेपालले ल्यायो ‘मारानी’

हिमाली कृषि–लक्जरीको नयाँ मानक स्थापित गर्ने दाबी

175
Shares

काठमाडौं । सूर्य नेपालले ‘ब्रान्ड नेपाल’लाई अन्तर्राष्ट्रिय स्तरमा उचाल्ने उद्देश्यसहित ‘हिमालयन ट्रेजर्स’ नामक नयाँ पहल सार्वजनिक गरेको छ ।

कम्पनीले यसअन्तर्गत पहिलो उत्पादनका रूपमा ‘मारानी’ नामक उच्चस्तरीय हिमाली चेस्टनट मह सार्वजनिक गरेको हो, जुन विशेष रूपमा संयुक्त राज्य अमेरिकाको प्रिमियम बजारलाई लक्षित गरिएको छ ।

कम्पनीका अनुसार ‘मारानी’ केवल मह होइन, ‘हिमाली एग्रो–लक्जरी’को नमुना हो । यो मह नेपालका स्थानीय एपिस सेराना मौरीबाट उच्च हिमाली क्षेत्रका चेस्टनट फूलबाट उत्पादन गरिएको हो ।

सीमित परिमाणमा उत्पादन हुने यस महलाई ‘सर्भरेन लक्जरी’ उत्पादनका रूपमा प्रस्तुत गरिएको छ, जसले नेपालका प्राकृतिक स्रोतलाई उच्च मूल्यमा विश्व बजारमा स्थापित गर्ने लक्ष्य राखेको छ।

नेपालसँग विश्वकै उत्कृष्ट जडीबुटी तथा प्राकृतिक स्रोत हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारमा प्रिमियम पहिचान बनाउन नसकेको सन्दर्भमा ‘मारानी’ले नयाँ कथा सुरु गर्ने कम्पनीको विश्वास छ ।

विगतमा नेपाली उत्पादनहरू थोकमा निर्यात भई आफ्नो पहिचान गुमाउँदै आएको अवस्थामा, यस उत्पादनले ‘मेड इन नेपाल’लाई उच्चस्तरीय ब्रान्डको रूपमा स्थापित गर्ने प्रयास गरेको जनाइएको छ।

‘मारानी’ उत्पादन प्रक्रियामा कम्पनीले ‘सोर्स–टु–सिल’प्रणाली अपनाएको छ । यसअन्तर्गत नेपालको दुर्गम क्षेत्रका विशिष्ट सूक्ष्म जलवायु भएका वन क्षेत्रहरू पहिचान गरी त्यहीँबाट उत्कृष्ट कच्चा पदार्थ छनोट गरिएको छ ।

उत्पादनको प्रत्येक चरणलाई ब्लकचेन प्रविधिमार्फत ट्र्याक गरिने व्यवस्था मिलाइएको छ, जसले उपभोक्तालाई महको उत्पत्तिस्थानसम्मको विवरण डिजिटल रूपमा उपलब्ध गराउँछ।

कम्पनीका प्रमुख कार्यकारी गौरव तयालका अनुसार ‘मारानी’ नाम प्राप्त गर्न प्रत्येक उत्पादन कडा परीक्षण प्रक्रियाबाट गुज्रनुपर्छ । ‘हामी केवल मह प्याकेजिङ गरिरहेका छैनौं, नेपालकै उत्कृष्टता सुरक्षित गरिरहेका छौं,’ उनले भने, ‘सयौं मापदण्डका आधारमा परीक्षण गर्दा अधिकांश उत्पादन अस्वीकृत हुन्छन्। केवल उत्कृष्टतम गुणस्तरको मह मात्रै ‘मारानी’ बन्छ।’

कम्पनीले अमेरिकी बजारलाई पहिलो रोजाइ बनाउनु पनि रणनीतिक निर्णय भएको जनाएको छ ।

विश्वकै ठूलो प्रिमियम मह बजार अमेरिकामा प्रवेश गरेर नेपालका उत्पादनहरू न्यूजिल्याण्डको मनुका महजस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको सन्देश दिन खोजिएको हो।

कम्पनीका प्रबन्ध निर्देशक गौरव तयालले विश्व बजारमा प्रिमियम मूल्य प्राप्त गर्न गुणस्तरमा निरन्तरता आवश्यक रहेको उल्लेख गर्दै प्रत्येक जारले नेपालको प्रतिष्ठा बोकेको बताए । ‘हामीले अमेरिका पठाउने प्रत्येक जारमा नेपालको पहिचान जोडिएको छ, त्यसैले हामीले केवल उत्कृष्टतम उत्पादन मात्र पठाएका छौं,’ उनले भने।

‘हिमालयन ट्रेजर्स’ पहलले भविष्यमा अन्य नेपाली प्राकृतिक उत्पादनहरूलाई पनि अन्तर्राष्ट्रिय प्रिमियम बजारमा पुर्‍याउने मार्ग खोल्ने अपेक्षा गरिएको छ ।

यसले अमेरिकी खाद्य तथा औषधि प्रशासन लगायतका जटिल नियमहरू पार गर्दै निजी क्षेत्रलाई नयाँ अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ।

‘मारानी’ हालै अमेरिकामा व्यावसायिक रूपमा उपलब्ध भइसकेको छ। उपभोक्ताले यसलाई कम्पनीको आधिकारिक वेबसाइट तथा अमेजनमार्फत खरिद गर्न सक्नेछन्।