गुन्द्रुक र सातु बेचेर पोखराका यी महिलाले कमाउँछन् करोड
काठमाडौं । नेपाली एउटा चर्चित टुक्का छ, ‘गुन्द्रकको भाउ’ भन्ने । कुनै वस्तुले उचित मूल्य पाएन भने ‘गुन्द्रकको भाउ’ भन्ने चलन छन् ।
तर, व्यवसाय गर्न जान्ने हो भने यही गुन्द्रक बेचेर पनि करोड कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् पोखरेली महिलाहरु । उनीहरु आमा एग्रोमा आवद्ध भएका महिलाहरु हुन् ।
२०७५ सालमा स्थापना भएको आमा एग्रोको मुख्य उत्पादन गुन्द्रुक र सातु हुन् । यसबाहेक मस्यौरा, च्याख्ला, मिठो, अचार पनि उत्पादन गर्छन् ।
यिनै परम्परागत खाद्यान्न बेचेर आमा एग्रोले वार्षिक व्यापार करोडभन्दा पुर्याएको छ ।
‘हाम्रो गत वर्षको आम्दानी ७२ लाख रुपैयाँ थियो,’ आमा एग्रोकी अध्यक्ष गीता लामिछानेले भनिन्, ‘यसवर्षको व्यापार १ करोड २० लाख रुपैयाँ पुग्छ होला ।’
महिला उद्यमशिलता विकास गर्ने उद्देश्यले २०७५ सालमा ११ जना महिला मिलेर पोखरा ७ मा स्थापना भएको थियो ‘आमा एग्रो’ ।
सामाजिक संघसंस्थामा हिँड्दै गर्दा पनि उनलाई लाग्यो जबसम्म महिलाहरुले आफ्नो खल्तीबाट पैसा झिकेर खाजा खान सक्दैनन्, त्यो अवस्थासम्म महिला सशक्तिकरण हुँदैन । आत्मनिर्भर हुन सक्दैनन् ।
सचेत महिलाहरुको यो समूहले नयाँ व्यवसाय गर्ने सोच बनाए । जसले सिधै स्थानीय उत्पादन र कच्चा पदार्थसँग जोडिन सकिन्छ ।
‘त्याबेला हामीले टपरी बनाउने, माला बुन्ने, बत्ती काट्ने काम शुरु गर्यौं,’ लामिछाने भन्छिन्, ‘त्यसबाट हामीले व्यवसायमा नयाँ अनुभव लिन पायौं ।’
व्यवसाय गर्दै जाँदा उनीहरुलाई लाग्यो आफ्नो उत्पादनहरु फजुल खर्चमा प्रयोग भइरहेका छन् । साथै, माला, पोते जस्ता वस्तु बनाउन चाहिने कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्थ्यो ।
त्यसपछि उनीहरुले आफ्नो व्यवसायको आइडियालाई परिवर्तन गरे ।
उनीहरुको उद्देश्य थियो महिला उद्यम विकास गर्ने र आम मानिसका स्वास्थ्यसँग जोडिएको खाद्यान्न उत्पादन गर्ने ।
नेपालका गाउँबस्तीका आफ्नै खाद्यान्न छन् । जस्तो कि सातु, गुन्द्रुक, मस्यौरा, तरकारीको सुकुटी, जुन खाद्यान्न खाएर धेरै नेपाली हुर्किएका छन् । पछिल्लो समय भने ति वस्तुको उत्पादन हुनै छोडेका छन् ।
गुन्द्रुक खाएर हुर्किएकाहरु गाउँबाट सहरमा झरेका छन् । उनीहरुको जिब्रोमै झुन्डिएको छ गुन्द्रक र सातु । त्यसैले त चीनबाट आयात हुने गुन्द्रुक खान थालेका छन् उनीहरु । चीनबाट लाखौंको गुन्द्रुकसमेत आउने थालेको छ ।
बजारको यही मागलाई ध्यानमा राखेर आमा एग्रोले सातु, गुन्द्रुक, मस्यौरा, तरकारीको सुकुटी जस्ता परम्परागत खाद्यान्न व्यवसाय गर्ने निर्णय गरे ।
‘यी वस्तु उत्पादन बजारमा पठाएपछि धेरै राम्रो प्रतिक्रिया आयो,’ लामिछाने भन्छिन्, ‘हामीलाई बजारको प्रतिक्रियाले उत्साह दियो ।’
महिला उद्यमशिलतालाई प्रवर्द्धन गर्ने गर्ने मुख्य उद्देश्य थियो उनीहरुको । ११ जना महिलाहरु त्यसैका लागि लागिरहेका थिए ।
तर, केही व्यवहारिक समस्याहरु आइलाग्यो । उनीहरुलाई प्रयाप्त पुँजीको अभाव भयो । बैंकमा ऋण दिन जाँदा पनि महिलाहरुलाई पुरुष सहर सहजरुपमा ऋण लिन गाह्रो भयो ।
‘बैंकमा श्रीमान वा छोराहरु ग्यारेन्टी बस्नु आउनु पर्ने बाध्याता भयो,’ लामिछाने भन्छिन्, ‘पुरुष साथीहरुलाई पनि लगानीकर्ताको रुपमा ल्याउनु पर्ने अवस्था भयो ।’
अहिले केही पुरुष साथीहरुलाई सहभागी बनाएर ५० जनाको टिम बनेको आमा एग्रोमा ।
गएको वर्ष ‘न्यु विजनेस एज’बाट ‘वेष्ट स्टार्टअप अवार्ड’ पनि पाए । त्यो अवार्ड प्राप्त गरेपछि बजारबाट अझ राम्रो प्रतिक्रिया आएको छ ।
‘त्यसअघिसम्म त कतिले गुन्द्रुक र सातुको पनि भाउ हुन्छ र भन्थे ?,’ लामिछाने सुनाउँछिन्, ‘लगानीकर्ताको खासै चासो हुदैनथ्यो ।’
पछिल्लो समयमा गुन्द्रुक, सातुको व्यवसायलाई बजार र उपभोक्ताले चिन्न थालेका छन् । लगानीकर्ताले पनि यसमा रुची देखाएका छन् ।
कोरोना संक्रमण बढेको बेलामा पनि उनीहरु उत्पादनले अझ बढी बजार पायो ।
अनलाइनबाट गुन्द्रुक, सातु, मस्यौरा किन्नेहरु बढे । बजारमा पाइने अन्य जंक फुडभन्दा स्वस्थकर छ भन्ने मान्छेले बुझ्न थालेका छन् ।
उनीहरुले पहाड र हिमालमा पाइने स्थानीय कच्चा पदार्थहरु संकलन गरेर ल्याउँछन् । त्यसलाई नयाँ प्रविधिबाट प्रशोधन गर्छन र प्याकेजिङ गरेर बजार पठाउँछन् ।
उनीहरु उत्पादन गर्ने गुन्द्रुक, मस्यौरा, च्याख्ला, मिठो उच्च पहाड र हिमाली क्षेत्रमा पाइने कच्चा पदार्थ प्रशोधन गरेर बनाउने पराजुलीले बताइन ।
यी वस्तु संकलन, प्रशोधन र प्याकेजिङका लागि १० प्रकारका मेसिनहरु छन ।
जस्तो कि भुट्नका लागि रोष्टर मेसिन, डिआइडेटेट भेजिटेवल बनाउन ड्रायर मेसिन छन् । यी मेसिनमा ५० लाख लगानी गरेका छन् ।
उनीहरुले उत्पादन गरका वस्तुहरु बजारमा खोज्न जाँदा सहजी पाइदैन्न । बजारमा यस्ता सामान उत्पादन गर्ने प्रतिस्पर्धीहरु पनि नभएको उनी बताउँछिन् ।
‘अहिलेको राम्रो पक्ष भनेको हाम्रा सामानको ठूलो माग छ,’ उनले भनिन्, ‘सामान बजारमा पुर्याउमात्र पुग्छ, जति पनि बिक्री हुन्छ ।’
सातु पौष्टिक आहार भएकाले पनि बजारबाट राम्रो प्रतिक्रिया आएको छ ।
यी उत्पादनलाई जंगफुडको विकल्पका रुपमा प्रयोग गर्न सकिन्छ । भिभा, हर्लिक्स, युवाहरुले जिमको लागि प्रयोग गर्ने हाइ प्रोटिनको खाद्य वस्तुको सट्टा यी खाद्यान्न प्रयोग गर्न सकिने उनी बताउँछिन् । युवा, बालबालिकादेखि वृद्धाहरुका लागि यी खाद्यन्न उपयुक्त छन् ।
उनीहरुको मुख्य आउटलेट पोखरमा छ । त्यसबाहेक पोखरमा रहेको सेलवेज, पानीपधेंरो जस्ता ग्रोसरी सपबाट बिक्री गरिरहेका छन् । काठमाडौंमा भाटभटेनीबाट बिक्री गर्ने तयारीमा छ्न । अबका दिनमा पोखराभन्दा बाहिरका सहरमा आउटलेट खोल्ने योजनामा उनीहरु ।
१० करोड चुक्ता पुँजी रहेको कम्पनीले पोखरामा ४ करोड ६० लाख रुपैयाँमा जग्गा किनेको छ ।
यसबाहेक अगामी दिनको योजना केही खेती आफै गरेर आत्मनिभर हुनेछ । सबै कच्चा पदार्थ आफै उत्पादन गर्न असम्भव भए पनि एक दुई कच्चा पदार्थको खेती आफै गर्ने तयारी उनीहरुको छ ।
जस्तो कि गुन्द्रुकलाई चाहिने सागको खेती आफै गर्न सकेमा पहाडमा डुलेर संकलन गरिहरनु पर्दैन ।
‘हामी छिट्टै डेमो खेती गर्ने विचारमा छौं,’ उनले भनिन्, ‘एउटा वा दुईमा खेतीमा आत्मनिर्भर हुन सकिन्छ भन्ने लागेको छ ।’
नयाँ योजनाहरु पूरा गर्न थप लगानीको आवश्यकता छ । यही लगानी जुटाउने क्रममा छन् उनीहरु । नयाँ योजना पूरा गर्नका लागि ४ करोड रुपैयाँ लगानी आवश्यक भएको उनले बताइन ।
नयाँ लगानी जुटाउन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आयोजना गरेको ‘५० स्टार्टअप ५० लगानीकर्ता’ कार्यक्रममा पनि प्रस्ताव पेश गरेका छन् ।
नयाँ लगानी आएर योजनाअनुसार अगाडि बढेमा निकट भविष्यमा विदेशमा पनि निर्यात गर्ने तयारीमा छन् उनीहरु । विदेश पठाउनका उत्पादनहरु लामो समय टिक्नेखालको हुनुपर्छ । यसका लागि राम्रो प्याकेजिङ र गुणस्तरमा ध्यान दिनुपर्ने भएकाले यसको तयारी भइरहेको लामिछानेले बताइन ।
यी उत्पादनमा स्थानीय कच्चा पदार्थ प्रयोग गर्ने भएकाले यस व्यवसायमा चुनौतिहरु रहेको उनी बताउँछिन् । यी कच्चा पदार्थको सिजन फरक फरक हुन्छ । पहाड र हिमाली क्षेत्रमा घुमेर सिजनअनुसार एक वर्षलाई पुग्ने कच्चा पदार्थ संकलन गर्नुपर्छ ।