यो वर्ष आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण



काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने सरकारले प्रक्षेपण गरेको छ ।

शनिबार प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको आर्थिक सर्वेक्षणमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा बढी हुने देखिएको छ । अघिल्लो वर्ष ४.२५ प्रतिशतको आर्थिक वृद्धि भएको थियो ।

सन् २०२२ मा विश्व अर्थतन्त्र ३.६ प्रतिशतले मात्रै बिस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ ।

चालु आवमा कृषि २.३ प्रतिशत, उद्योग ८.१ प्रतिशत र सेवा क्षेत्रको कुल मूल्य अघिवृद्धि ६.६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । चालु आवमा मूल्य अघिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २३.९ प्रतिशत, १४.३ प्रतिशत र ६१.८ प्रतिशत रहेको छ ।

चालुृ आवमा कुल ग्राहस्थ उत्पादनको वृद्धिदर प्रदेश नम्बर १ मा ५.४१ प्रतिशत, मधेश प्रदेशमा ४.८२ प्रतिशत, बाग्मती प्रदेशमा ६.७४ प्रतिशत गण्डकी प्रदेशमा ६.१७ प्रतिशत, लुम्बिनी प्रदेशमा ५.३६प्रतिशत, कर्णाली प्रदेशमा ५.७४ प्रतिशत र सुदुरपश्चिममा प्रदेशमा ४.९२ प्रतिशत हुने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८मा कुल ग्राहस्थ उत्पादनमा उपभोगको अंश ९२.३ प्रतिशत रहेकोमा चालु आवमा केही कमी आइ ९०.७ प्रतिशत रहने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा कुल लगानी २५.९ प्रतिशतले संकुचन भएकोमा पछिल्लो २ वर्षमा यस्तो लगानी बढेको छ ।
आव २०७७/७८ मा २९.३ प्रतिशतले वृद्धि भएको कुल लगानी चालु आवमा १८.१ प्रतिशतले बढेर १८ खर्ब ७ अर्ब २९ करोड रुपैयाँ अनुमान छ ।

आव २०७७/७८ मा कुल ग्राहस्थ उत्पादनसँग कुल लगानीको अनुपान ३५.८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा यस्तो अनुपातमा वृद्धि भइ ३७.३ प्रतिशतले पुग्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु