भरतपुरमा रेनुलाई लगातार उछिन्दै एमालेका बिजय सुवेदी, यस्तो छ पछिल्लो अपडेट



चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा एमालेका बिजय सुवेदीले लगातार अग्रता लिएका छन् ।

पछिल्लो अपडेटअनुसार राप्रपा एमाले गठबन्धनका सुवेदीले ३८ सय ९९ मत प्राप्त गरेका छन् भने उनकी निकटतम् प्रतिद्धन्द्धी कांग्रेस माओवादीको ५ दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३८ सय ५६ मत ल्याएकी छन् ।

अहिलेसम्मको मत परिणामअनुसार दाहालको भन्दा सुवेदीको ४३ मत बढी छ ।

नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १५ सय ४८ मत ल्याएका छन् । पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका कारण रेनुलाई निकै कठिन देखिएको छ ।

यसअघिको निर्वाचनमा पनि रेनुले हार्ने भएपछि माओवादी कार्यकर्ताले मतपत्र च्यात्ने र चपाउने कार्य गरेका थिए । दोस्रो पटक भएको निर्वाचनमा मात्रै रेनुले जितेकी थिइन् । यो पटक पनि माओवादीबाट मतगणना जोगाउन सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।

अघिल्लो चुनावमा मतगणनामा बसेका रेणुका प्रतिनिधिले मतपत्र च्यात्ने र चपाउने गरेका कारण यो चुनावमा गणनास्थलमा दलका प्रतिनिधिलाई प्रवेश दिइएको छैन । तारजालीले बलियोसँग बारेको बारभित्र कर्मचारीहरुले मत गन्छन् । तारजाली बाहिर बसेका दलका प्रतिनिधिलाई देखाउँछन् ।

रेनु माओवादी अध्यक्ष प्रचण्डकी छोरी समेत हुन् । मौन अवधिमा समेत प्रचण्डले चितवनमै बसेर निर्वाचन आचार संहिताविपरित रेनुको पक्षमा भोट मागेका थिए ।

त्यतिमात्रै होइन, रेनुलाई गठबन्धनका तर्फबाट भोट माग्नका लागि गरिएको आमसभामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकैअघि कांग्रेसीहरुले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जानसक्ने खतरा रहेको भन्दै मतदातालाई धम्क्याएका थिए ।


क्लिकमान्डु