बजेटमा चेम्बरको सुझावः गाँजा खेतीलाई मान्यता, विद्युतीय सामग्रीको उच्चतम प्रयोग गर्ने व्यवस्था होस



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेको छ ।

भेटका क्रममा चेम्बरले आगामी आर्थिक वर्षको बजेट लागि पनि सुझाव दिएको छ । चेम्बरले आगामी आवको बजेटमा गाँजा खेलीलाई मान्यता दिन, विद्युतीय सामग्रीको उच्चतम प्रयोग हुने व्यवस्था गर्न सुझाव दिएको छ ।

व्यापारघाटा बढ्नुको मुख्य कारण पेट्रोलिय पदार्थको उच्च आयात रहेको भन्दै अध्यक्ष मल्लले आगामी बजेटमा विद्युतीय सामग्रीको उच्चतम प्रयोग हुनेगरी बजेट तर्जुमा गर्नुपर्नेमा जोड दिए । साथै उनले गाँजा खेतीलाई कानूनी मान्यता दिन अर्थमन्त्री शर्मासँग आग्रह गरेको छ । गाँजाबाट औषधी तथा कपडा पनि बनाएर निर्यात गर्न सकिने भन्दै अध्यक्ष मल्लले गाँजा खेतीलाई व्यापारघाटा कम गर्ने विकल्पका रुपमा लिनुपर्ने सुझाव दिए ।

पछिल्लो आर्थिक अवस्था, नयाँ बजेट गृहकार्य लगायतका विषयमा चेम्बर पदाधिकारीले अर्थमन्त्री शर्मासँग अर्थमन्त्रालयमा भेटवार्ता गरेको हो । मन्त्री शर्मासंगको भएको भेटमा अध्यक्ष राजेन्द्र मल्लले मुलुकको भुक्तानी सन्तुलनलाई असर नगर्ने गरी आयात व्यवस्थित गर्नुपर्ने बताए । आवश्यक वस्तुहरुको अभाव हुन नदिन औद्योगिक कच्चा पदार्थ एवं उपभोग्य वस्तुहरुलाई व्यवस्थित तवरले आयत गर्न दिनुपर्ने मल्लले बताए ।

व्यापारघाटा कम गर्नका लागि निर्यात प्रवद्र्धनमा सहुलियत दिनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । अर्थमन्त्री शर्मासँग अध्यक्ष मल्लले भन्सारमा सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मुल्यलाई मान्यता दिनुपर्ने सुझाव समेत दिएका छन् ।

नेपालको भन्सार प्रक्रीयामा सहजिकरण नहुँदा निर्यात प्रवद्र्धन हुन नसकेको चेम्बर पदाधिकारीले गुनासो गरेका थिए । ‘मुख्य मुख्य भन्सार नाकाहरुमा अन्तर्राष्ट्रियस्तरको उच्चस्तरीय प्रयोगशाला राख्न सकियो भने गुणस्तरीय बस्तु मात्रै आयत हुने वातावरण बन्छ’ उनले भने ‘यसबाट स्वभाविक रुपमा आयात कम गर्न सकिन्छ ।’

सबै नागरिकलाई करको दायरामा ल्याउन नागरिकता दिँदै प्यानकार्ड पनि उपलव्ध गराउने व्यवस्था गर्न सकिने अध्यक्ष मल्लको सुझाव रहेको छ । घर जग्गा कारोबारलाई पनि करको दायरामा ल्याउनुपर्ने अध्यक्ष मल्लको तर्क छ । ‘घर जग्गा कारोबार ब्रोकर कम्पनी मार्फत गर्न आवश्यक छ’, उनले भने, ‘कम्पनी मार्फत कारोबारको व्यवस्था गरियो भने करको दायरामा ल्याउन सकिन्छ ।’

मुलुकको अर्थतन्त्रलाई दोहोरो अंकमा वृद्धि गर्ने हो भने एकलदरको व्याजदर कायम गर्नेगरी नीतिगत व्यवस्था हुनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । कमर्सले एकल दरको व्याजदर कायम गर्न राष्ट्र बैंकलाई पनि आग्रह गर्दै आएको स्मरण गराए ।

अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिए । ‘अर्थतन्त्रको महत्वपुर्ण हिस्सा निजी क्षेत्रले ओगोटेको छ’ उनले भने ‘सरकारले त उपयुक्त वातावरण बनाईदिने मात्र हो । समग्र अर्थतन्त्रको ७० प्रतिशत हिस्सा निजी क्षेत्रमा छ ।

व्यापार गर्नेले उत्पादन मुलुक क्षेत्रमा पनि लगानी गर्ने गरि सरकारले नीतिगत व्यवस्था गर्न लागेको अर्थमन्त्री शर्माको भनाइ छ । उद्योग, व्यवसायमैत्री वातावरणका लागि सरकार प्रतिवद्ध रहेको मन्त्री शर्माले बताए ।


क्लिकमान्डु