तरलता अभावले निर्यात कर्जा प्रवाहमा सबैभन्दा बढी असर



काठमाडौं । नेपाल राष्ट्र बैंकले उच्च आयातका कारण बजारमा तरलता अभाव हुँदा सबैभन्दा बढी निर्यात क्षेत्रलाई असर पुगेको छ ।

बजारमा तरलता अभाव हुँदा निर्यात कर्जा प्रवाह मंसिरबाट लगातार घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँदछ ।

समग्रमा बैंक तथा वित्तिय संस्थाले क्षेत्रअनुसार प्रवाह गरेको कर्जामध्ये निर्यात क्षेत्रमा अप्रत्याशित रुपमा घटेको देखिन्छ ।

नेपालमा मंसिरबाट तरलताको अभाव देखिन थालेको थियो । सोही महिनाबाट निर्यात कर्जा प्रवाह निरन्तर घटेको छ ।

कात्तिकको तुलनामा मंसिरमा ७.८४ प्रतिशतले निर्यात कर्जा प्रवाह घटेको छ ।

कात्तिकमा ५ अर्ब ७५ करोड ३० लाख रुपैयाँ निर्यात कर्जा प्रवाह भएको थियो । तर, मंसिरमा आइपुग्दा ५ अर्ब ३० करोड २० लाख मात्रै कर्जा प्रवाह भएको छ ।

तर, मंसिरको तुलनामा पुसमा भने केही मात्राले बढेको छ । पुसमा ५ अर्ब ३१ करोड ३० लाख रुपैयाँ निर्यात कर्जा प्रवाह भएको तथ्याङ्कले उल्लेख गर्दछ । जुन ०.२७ प्रतिशतले बढी हो ।

माघमा पुसको तुलनामा १६.९८ प्रतिशतले घटेको छ । सो महिना ४ अर्ब ४१ करोड ५० लाख रुपैयाँ मात्रै कर्जा प्रवाह भएको थियो । साथै, माघको तुलनामा पुनः फागुनमा २७.२५ प्रतिशतले घटेर ३ अर्ब २१ करोड २० लाख रुपैयाँ मात्रै निर्यात कर्जा प्रवाह भएको छ ।

चालु आर्थिक वर्षको साउनमा यस्तो कर्जामा ४ अर्ब ७३ करोड ४० लाख रुपैयाँ प्रवाह भएको थियो । त्यस्तै, भदौमा ५ अर्ब २४ करोड ३० लाख रुपैयाँ, असोजमा ५ अर्ब ४४ करोड १० लाख रुपैयाँ र कात्तिकमा ५ अर्ब ७५ करोड ३० लाख रुपैयाँ निर्यात कर्जा प्रवाह भएको थियो ।


क्लिकमान्डु