पाकिस्तानमा मध्यरातमा ढल्यो इमरान खानको सरकार, बिना अनुमति विदेश जान रोक



नेपालमा तत्कालीन प्रधानमन्त्री केपी शर्र्मा ओलीले २ पटकसम्म गरेको संसद बिघटन सर्वोच्च अदालतबाट पुनस्थापित भए जस्तै घटना पाकिस्तानमा पनि घटेको छ ।

पाकिस्तानमा करिब एक महिनादेखि जारी सत्ताको लडाइ अहिले रोकिने अवस्थामा पुगेको छ । प्रधानमन्त्री इमरान खानले संसद बिघटन गरेर निर्वाचनमा जाने गरी गरेको घोषणालाई त्यहाँको अदालतले उल्टाइदिएको थियो ।

त्यसपछि शनिबार अबेर रातसम्म भएको भोटिङमा प्रधानमन्त्री खान पराजित भए । यसअघि भोटिङबाट बच्नका लागि इमरान खानले कैयन उपाय अपनाए । संसदका स्पिकर र डेपुटी स्पिकरले राजीनामा दिए । तर विपक्षीहरुले नयाँ स्पिकर निर्वाचित गरेर भोटिङ गरे । अहिले इमरान खानको सरकार पाकिस्तानमा ढलिसकेको छ । सोमबारसम्ममा पाकिस्तानले नयाँ प्रधानमन्त्री पाउने छ ।

पाकिस्तानको संसदमा कुल ३४२ सांसद छन् । तर भोटिङका क्रममा जम्मा १७४ सांसद उपस्थित थिए । उपस्थित सबैले इमरान खानको विपक्षमा भोट हालेका छन् । पाकिस्तानमा सत्ता परिवर्तनसँगै इमरान खानका नजिकका व्यक्तिहरुका घरमा छापा मारिएको छ ।

इस्लामाबाटमा सेना उतारिएको छ । देशका कैयन नेता तथा अफिसरहरुलाई बिना एनओसी देश छाड्न बन्देज लगाइएको छ । विज्ञहरु पूर्व स्पिकर असद कैसर तथा डेपुटी स्पिकर कासिम सुरीका विरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा चल्न सक्नेछ ।

त्यहाँको अदालतले शनिबार राति १० बजेसम्म अविश्वासको प्रस्तावमाथिको मतदान जसरी पनि हुनुपर्ने फैसला गरेको थियो । तर स्पिकर कैसरले राजीनामा दिएका कारण राति १२ बजेर १५ मिनेटमा मात्रै अविश्वासको प्रस्तावमाथि मतदान शुरु भएको थियो ।


क्लिकमान्डु