
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी व्यवस्था उल्लंघन गर्जे ३ सेयर ब्रोकरलाई नगद जरिवाना सहित कारवाही गरेको छ । बोर्डले ३ सेयर ब्रोकरलाई ३० लाखदेखि ५० लाख रुपैयाँसम्म जरिवाना गरेको हो ।
बोर्डले सिप्ला सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई नगद जरिवाना सहित कारवाही गरेको हो । सिप्ला सेक्युरिटिजलाई ५० लाख रुपैयाँ, श्री कृष्ण सेक्युरिटिज हातेमालो फाइनान्सियल सर्भिसेजलाइ ३०/३० लाख रुपैयाँ नगद जरिवाना सहित कारवाही गरेको हो ।
‘ सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७क. को उपदफा (४ ) को खण्ड (घ) र दफा ७ग. को व्यवस्था उलंघन गरेकोले सोही ऐनको दफा ७फ. को उपदफा (१) को खण्ड (ख) बमोजिम सिप्ला सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई जरिवाना गरिएको छ,’ बोर्डले ३ ब्रोकरलाई कारवाही गर्दै भनेको छ ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यन्वयन गराउने उद्देश्यले बोर्डले यस्तो कारबाही गरेको जनाएको छ ।
नेपाल धितोपत्र बोर्डले सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालमाथि छानविन गरी तयार पारेको प्रतिवेदनमा ३ वटै सेयर ब्रोकरले सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था उलंघन गरेको भन्दै कारवाही सिफारिस गरेको थियो ।
सोही अध्ययन प्रतिवेदनको सिफारिसको आधारमा ३ सेयर ब्रोकरलाई नगद जरिवाना गरेको हो ।







प्रतिक्रिया