लगानी गर्न आउनेलाई प्रतिफलको स्पष्ट खाका दिनुसक्नु पर्छः मन्त्री शर्मा



काठमाडौं । मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रबर्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच सम्झौता भएको छ ।

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशिल भट्टले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोर्डका उपाध्यक्ष एंव अर्थमन्त्री जनार्दन शर्माले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवद्र्धनका लागि बोर्ड र महासंघ बीचको समझदारी एउटा अनुपम उदाहरण भएको बताए । समझदारीमा उल्लेख गरिएका सहमतीका दफाहरुलाई दुवै संस्थाले अधिकतम सफल पार्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए । उनले यो सहमतीबाट सिंगो राष्ट्र नै लाभान्वित हुने बताए । सरकारले आन्तरिक एवं बाह्य सबै प्रकारको लगानी आकर्षणमा विशेष जोड दिएको बताउदै लगानी गर्न आउनेलाई प्रतिफलको पनि स्पष्ट खाका दिनुसक्नु पर्ने सुुझाव दिए ।

लगानीका लागि गरिएको प्रतिवद्धता अनुूरुप लगानी आउन नसक्नुका पछाडी मिहिन ढंगले अध्ययन गरी प्रतिवद्धता अनुरुपको अधिकतम लगानी भित्रयाउन सरकार लागी रहेको बताए ।

लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बोर्ड र महासंघ बीचको समझदारी ऐतिहासिक भएको बताए । लामो गृहकार्य पश्चात सम्पन्न समझदारीपत्र हस्ताक्षर कार्यक्रम एउटा ऐतिहासिक शुरुवात भएको भन्दै सहमतीलाई सफल पार्न वोर्डले कुनै कसर बांकी नराख्ने भन्दै महासंघबाट पनि आफूले पूर्ण सहयोग पाउने विश्वास प्रकट गरे ।

दुवै संस्थाको एउटै उद्देश्य मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवद्र्धनका माध्यमबाट आम नेपालीहरुको मुहार खुशी बनाउनुु नै रहेकाले यसलाई अधिकतम रुपमा सफल पार्नेमा विश्वास दिलाए ।

महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवद्र्धनमा समझदारी कोशेढुंगा हुने विश्वास व्यक्त गरे । अध्यक्ष गोल्छाले समझदारीले लगानी वोर्डसंग लगानी प्रवद्र्धनमा सहकार्य गर्ने ढोका खुुलेको बताए । महासंघको सचिवालयमा बोर्डको समेत संलग्नता र सहयोगमा खुल्ने सहायता कक्षले ठोस परिणाम दिने विश्वास प्रकट दिए ।

सहमती अनुसार महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सहायता कक्ष समेत स्थापना गरिने छ । सहायता कक्षको संचालनमा वोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, शीप विकास र ज्ञानको आदानप्रदानमा सहयोग गरिनेछ ।

समझदारी अनुसार महासंघले राष्ट्रको आवश्यकता अनुसारका लगानी परियोजनाको पहिचान, अन्तराष्ट्रिय रुपमा आफनो माध्यम मार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा बोर्डलाई सक्रियतापूर्वक सहयोग गर्नेछ । महासंघले स्वदेश तथा विदेशमा लगानी सम्बन्धी रोड सोका अतिरिक्त महत्वपूर्ण गतिविधिको आयोजनामा सहयोग गर्नेछ ।

लगानी प्रवद्र्धनका दिशामा सार्वजनिक निजी साझेदारीको अवधारणाभित्र रही दुवै संस्था निरन्तर सहकार्य, लगानी सम्बन्धी ज्ञान, अनुुभव एवं सूचनाको आदानप्रदान, नीतिगत सुधारमा सहकार्य गर्ने छन् भने एफडीआई तथा लगानी प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने सभा, सम्मेलन, प्रर्दशनी, गोष्ठी, कार्यशाला, तालीम र यस्तै प्रकारका अन्य गतिविधिहरुको आयोजनामा महासंघले बोर्डलाई प्रत्यक्ष सहयोग पुरयाउने छ ।

महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिले लगानी प्रवद्र्धनका लागी तयार गर्ने सवै दस्तावेजहरुमा बोर्डले सहयोग गर्नेछ । दुवै संस्थाले लगानी सम्बन्धी तथ्याक, प्रतिवेदन, संयुक्त रुपमा तयार पारिएका प्रतिवेदनहरु, वाह्य लगानी आकर्षणमा देखा परेका चुनौती तथा अवसरहरु र सार्वजनिक निजी साझेदारीमा लगानी सम्बन्धी नीति पैरवी लगायतमा सहयोग, सहकार्य, आदान प्रदान गर्नेछन् । महासंघले लगानीका अवसर सम्बन्धी डाइरेक्टरीको तयारीमा पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले सवै प्रकारका लगानी, परियोजना विकास लगायतमा संयुक्त रुपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछन् ।


क्लिकमान्डु